तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित न्यु भिजन युवा क्लवले पहिरो प्रभावित क्षेत्रमा शनिबार वृक्षारोपण गरेको छ । गत असारमा परेको वर्षापछि आएको पहिरोले क्षति पुगेको पिपलडिहीमा क्लवले वृक्षारोपण गरेको हो ।
सो क्रममा विभिन्न प्रजातिका सात सय बिरुवा रोपिएको क्लवका अध्यक्ष सन्दिप रानाभाटले जानकारी दिनुभयो । गत असारमा परेको वर्षापछि गएको पहिरोले क्षति पुगेको ठाउँको संरक्षण र भूक्षय रोकथाम गर्नका लागि वृक्षारोपण गरिएको रानाभाटले बताउनुभयो ।
भिरपानी सामुदायिक वन उपभोक्ता समितिको सहआयोजनामा गरिएको वृक्षारोपणमा डिभिजन वन कार्यालय, जामुने टोल विकास संस्था, शिवशक्ति युवा क्लव र न्यु जेनेरशन युथ क्लव गुणादीले सहयोग पुर्याएको थियो ।