पाेखरा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशलाई खेलको राजधानी बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल मार्सल आर्ट हाप्किडो सङ्घको आइतबार पोखरामा आयोजित चौथो वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पर्यटनको राजधानीको रुपमा विकास भइसकेको प्रदेशलाई अब खेलको राजधानी बनाउनेतर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।
खेल क्षेत्रको पूर्वाधार विकासका लागि सरकार लागिपरेको बताउँदै मन्त्री गुरुङले खेल क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउन सकिने उल्लेख गर्नुभयो । खेल भनेको कला र सीप भएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले खेल कौसललाई निखार्दै खेलाडी अगाडी बढ्नुपर्ने बताउनुभयो । जीवन जसरी चलिरहन्छ त्यसैगरी खेल पनि एउटा पुस्ताबाट अर्को पुस्तालाई हस्तान्तरण गर्दै चल्नुपर्ने मन्त्री गुरुङले बताउनुभयो ।
फरक प्रसङ्गमा मन्त्री गुरुङले अर्थतन्त्र चलायमान नभईकन समृद्धि सम्भव नरहेको बताउँदै कोरोनादेखि डराएर भाग्न नहुने जिकिर गर्नुभयो । “कोरोनाबाट डराएर भाग्ने होइन, सरकारले तोकेको मापदण्डमा रहेर अर्थतन्त्र चलायमान गराउनुपर्छ, लकडाउन समाधान होइन अब सुरक्षाको विधि अपनाएर अगाडी बढ्नुपर्छ,” उहाँले भन्नुभयाे ।