काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारसँग विभिन्न मिडिया हाउसबाट पारिश्रमिक नपाएका पत्रकारहरुको समस्या समाधान गर्न माग गर्नुभएकाे छ । केही मिडिया हाउसले पारिश्रमिक नदिएको विरोधमा नयाँ बानेश्वरमा सडकमै रिले अनसनमा बसिरहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै प्रवक्ता शर्माले उनीहरुको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नुभएकाे हाे ।
“प्रधानमन्त्रीजीले भन्नुभएको कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने कुराको अभिव्यक्ति मिडियातर्फ प्रधानमन्त्रीजीले धैर्यतापूर्वक हेरेर यसको निष्कर्षमा पुर्याउन ध्यान दिनुपर्छ भन्ने हाम्रो आग्रह छ,” उहाँले भन्नुभयाे ।
सञ्चारमाध्यमका लगानीकर्ता, पत्रकार र व्यवस्थापनमा रहेका कमर्चारीलाई राज्यले हेर्दै गर्दा जनताका रुपमा हेर्नुपर्नेमा जोड दिँदै प्रवक्ता शर्माले सरकारले सबैलाई समान ढंगको व्यवहार गर्नुपर्ने बताउनुभयाे । उहाँले पारिश्रमिक नपाएर चरणबद्ध आन्दोलनमा उत्रिएका पत्रकारको माग सम्बोधन गर्ने पहिलो दायित्व सम्बन्धित सञ्चार गृहको भएको पनि जिकिर गर्नुभयाे ।
“मिडिया हाउसको नेतृत्व गरिरहेका व्यक्तित्वहरुलाई हामी अपिल गर्न चाहन्छौं कि जो-जो श्रमजीवी पत्रकारहरु जुन-जुन मिडियासँग आबद्ध हुनुहुन्थ्यो, उहाँहरुको रोजगारीको सुरक्षा गर्ने सन्दर्भमा सबैभन्दा बढी अग्रसरता यहाँहरुले राख्नुपर्छ,” प्रवक्ता शर्माले भन्नुभयाे ।