तनहुँ : पिसीआर परीक्षण गर्न माग गर्दै तनहुँ जलविद्युत आयोजनाका मजदुर आन्दोलित भएका छन् । तनहुँ जलविद्युत आयोजनाको दोस्रो प्याकेज अन्तर्गत सिनो हाइड्रोका मजदुरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका हुन् ।
सिनो हाइड्रोले परिचालन गरेका एक मजदुरमा कोरोना सङ्क्रमण देखिएपछि सबै मजदुरको पिसीआर परीक्षण गर्न माग गर्दै मजदुर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत आयोजनाको कार्यालयमा धर्ना दिएका छन् ।
तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले आइतबार बिहान मजदुरहरुको पिसीआर परीक्षण गर्ने सहमति भएपनि पुनः आन्दोलन भइरहेको जानकारी दिनुभयो । “कोरोना सङ्क्रमण देखिएका व्यक्तिको नजिकको सम्पर्कमा रहेकाहरुको पिसीआर परीक्षण गर्ने सहमति भएको थियो,” उहाँले भन्नुभयो, “सहमति लगत्तै मजदुरहरु पुनः आन्दोलित भएका छन् ।” सिनो हाइड्रोतर्फ २ सय ५० मजदुर छन् । तीमध्ये नजिकको सम्पर्कमा आएकाको पिसीआर परीक्षण गर्ने सहमति भएपनि पुनः आन्दोलन गर्दा उहाँहरुको माग के हो भन्ने बारेमा बुझ्न नसकिएको घिमिरेले बताउनुभयो । तनहुँ जलविद्युत आयोजनाले बिहीबार एक सय जनाको पिसीआर परीक्षण गरेकामा एक जना मजदुरमा कोरोना सङ्क्रमण देखिएको थियो ।