खसी विक्री गरेर गाउँमा भित्रियो डेढ करोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    खसी विक्री गरेर गाउँमा भित्रियो डेढ करोड

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    तनहुँ : तनहुँका विभिन्न सहकारीले खसी विक्री गरेर डेढ करोड भन्दा बढी रकम गाउँ भित्र्याएका छन् । दशैं शुरु भएसँगै जिल्लाका विभिन्न ठाउँका कृषकले खसी विक्री गरेर डेढ करोड भन्दा बढी गाउँ भित्र्याएका हुन् ।

    तनहुँको घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाका कृषकले असोज महिनामा मात्रै रु एक करोड ७३ लाख ३० हजार पाँच सय ३२ को खसीबोका विक्री गरेका छन् । कृषकले पालेको खसीबोका विक्रीका लागि स्थानीय स्तरमा रहेको सहकारी संस्थाले बजारीकरणको व्यवस्था गरिदिएको छ । यस अवधिमा एक हजार एक सय २५ वटा खसी विक्री भएका छन् ।

    भीमाद नगरपालिका–९ भानुमतिस्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले सबैभन्दा बढी खसी बोका विक्री गरेको छ । सहकारीले रु ३७ लाख ७७ हजार आठ सय १२ को खसीबोका विक्री गरेको अध्यक्ष देवीमोक्तान आलेले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ, कास्की, लमजुङ, स्याङ्जा लगायतका जिल्लामा खसीबोका विक्री गरिएको छ ।

    “कृषकले पालेका खसीबोका विक्री वितरणका लागि सहकारीले बजारीकरण गर्दै आएको छ, तनहुँ भन्दा बाहिरका जिल्लाका व्यापारी पनि खसी किन्न आइपुग्छन्,” आलेले भन्नुभयो, “प्रति किलो रु एक हजार चार सय दशमा विक्री गर्न सफल भयौ ।” उक्त सहकारीमा आबद्ध २ सय ८ किसानले खसीपालन गरेका छन् । उहाँका अनुसार सहकारीले एक सय ९४ वटा खसी बोका विक्री गरेको छ ।

    व्यास नगरपालिका–८ रिस्तीस्थित शुभदिप सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् रु २५ लाख ६२ हजार तीन सय ६० को खसीबोका विक्री भएको छ । सहकारीका अध्यक्ष पार्वती पौडेलले कृषकलाई सजिलोका लागि सहकारीले नै बजारीकरणको व्यवस्था मिलाउँदै आएको जानकारी दिनुभयो । नगरपालिकाले खसीको उत्पादन विक्रीमा अनुदान दिएपछि यहाँका कृषक बाख्रापालनतर्फ आकर्षित हुँदै गएको पौडेलले बताउनुभयो ।

    घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् रु २१ लाख ६ हजार एक सय ३५ बराबरको खसी विक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेका अनुसार यस अवधिमा एक सय ७३ वटा खसीबोका विक्री भएको जानकारी दिनुभयो ।

    भीमाद नगरपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारीमार्फत् रु २२ लाख ४८ हजार एक सय १२ बराबरको खसी विक्री भएको सहकारीका अध्यक्ष सङ्गिता रानाले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीले एक सय ७४ वटा खसीबोका विक्री गरेको छ । सहकारीमा आबद्ध पाँच सय ७० शेयर सदस्यमध्ये चार सय आठ जनाले बाख्रापालन गरेका छन् ।

    “कोरोनाको प्रकोपका बीचमा कृषकले पालेका खसीबोका विक्री हुन्न की भन्ने चिन्ता थियो, तर खसी किन्ने व्यापारी खोजी गरी खसी विक्री गर्न सफल भयौ,” उहाँले भन्नुभयो, “यसले गर्दा कृषकलाई पनि सहज भएको छ ।”

    घिरिङ गाउँपालिका–२ सुन्धारास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् रु दश लाख २३ हजार एक सय ३९ बराबरको खसी विक्री भएको छ । सहकारीका अध्यक्ष शारदा आलेले कोरोना प्रकोपका बीचमा पनि ७७ वटा खसी विक्री गर्न सकिएको जानकारी दिनुभयो ।

    “दशैं नजिकिदै गर्दा सहकारीमा आबद्ध कृषकले पालेका खसीबोका विक्री गरेर गाउँमा पैसा भित्र्याउन सक्यौ, जसले गर्दा शेयर सदस्य उद्यमशील बनेका छन् भने सहकारीले पनि केही प्रतिशत नाफा गर्न सकेको छ,” उहाँले भन्नुभयो ।

    भीमाद नगरपालिका–२ जिलाङस्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् रु सात लाख ९६ हजार चार सय १५ को खसीबोका विक्री भएको छ । यस अवधिमा ५५ वटा खसीबोका विक्री गरिएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवास्थित आधारशीला उद्यमी महिला सहकारी संस्था मार्फत् रु पाँच लाख ८३ हजार ९ सय ८० र शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित दिदिबहिनी कृषि सहकारी संस्था मार्फत् रु चार लाख ९५ हजार चार सय २० बराबरको खसीबोका विक्री भएको छ ।

    त्यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका–१ जितास्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत् रु २९ लाख ९२ हजार सात सय १९ बराबरको खसीबोका विक्री भएको छ । सहकारीका अध्यक्ष शुभद्रा पौडेलले सहकारी मार्फत् खसी बोकाको बजारीकरण गर्दा नगरपालिकाले उत्पादन विक्रीमा अनुदान दिएको जानकारी दिनुभयो । “सहकारीमार्फत् विक्री वितरण गर्दा अनुदान प्राप्त हुँदा कृषक पनि सहकारीबाट बजारीकरण गर्न आकर्षित छन्,” उहाँले भन्नुभयो, “यसले किसानलाई बिचौलियाबाट ठगिन परेको छैन ।”

    सुन्दरबजार नगरपालिका–१ कुन्छास्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत् रु सात लाख ४४ हजार चार सय ४० बराबरको खसीबोका विक्री भएको छ ।

    भीमाद नगरपालिका–९ का कृषक श्रीमाया आलेले गाउँबाटै खसीबोका विक्री गर्न पाउँदा सहज भएको बताउनुभयो । “कोरोनाका कारण अहिले खसीबोका विक्री हुन्न की भन्ने चिन्ता थियो, त्यो चिन्ता अब रहेन,” उहाँले भन्नुभयो, “खसीबोका विक्री गरेर मनग्य आम्दानी भइरहेको छ ।” भीमाद नगरपालिका–४ माझकोटका कृषक प्रेक्षा राना, पार्वती लम्सालले पनि चाडपर्व नजिकिदै गर्दा खसी विक्री भएपछि घरखर्च चलाउन सहज भएको बताउनुभयो ।

    नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र हेफर इन्टरनेशलन नेपालको साझेदारीमा ती सहकारीमा पशु वस्तुको मूल्य श्रृङ्खलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजना सञ्चालित छ ।

    परियोजना अन्तर्गत किसानहरुले उत्पादन गरेका पशु वस्तुहरुको बजारीकरणमा सहयोग, सहकारीको संस्थागत विकास तथा सुदृण्ीकरण, सहकारीको आवश्यक नीति निर्माण र कार्यान्वयन, उद्यमशील बनाउनका लागि वित्तीय सेवामा पहुँच कार्यक्रम सञ्चालन भइरहेको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले जानकारी दिनुभयो ।

    नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले सहकारी संस्थाले खसी बोकाको बजारीकरण गरी नाफा आर्जन गर्नुभन्दा पनि किसानद्वारा उत्पादित पशुवस्तुको उचित मूल्य प्राप्त गराउन परियोजनाले सहयोग गर्दै आइरहेको बताउनुभयो । “हचुवाको भरमा खरिद विक्री हुँदै आएको कार्यलाई निरुत्साहित गर्दै जिउँदो खसीबोकाको नापतौलको आधारमा मूल्य निर्धारण गरी किसानले विक्री गर्न सफल भएका छन्,” पौडेलले भन्नुभयो ।

    फाइल तस्वीर