नेपाल बैङ्कको लापरवाही, पिसीआर रिपोर्ट नआउँदासम्म पनि कर्मचारी काममै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल बैङ्कको लापरवाही, पिसीआर रिपोर्ट नआउँदासम्म पनि कर्मचारी काममै

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७७, मंगलवार

    तनहुँ : नेपाल बैङ्क दमौली शाखामा कार्यरत दुई कर्मचारीलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भयो । सङ्क्रमित दुवै महिला कर्मचारी हुन् । पिसीआर रिपोर्ट सार्वजनिक हुँदासम्म पनि उनीहरु बैङ्कमै कार्यरत रहेको खुलेको छ ।

    शुक्रबार स्वाब दिएका दुवैलाई बैङ्कले आइतबारदेखि काममा बोलाएको थियो । आइतबार र सोमबार बैङ्कमै आएर काम गरिरहेका उनीहरुले बैङ्कमै हुँदा आफू सङ्क्रमित भएको थाहा पाएका छन् । स्वाब दिएपछि पनि शाखा प्रमुखले उनीहरुलाई बोलाएर काममा लगाएको खुलेको छ ।

    स्वास्थ्य मन्त्रालयले स्वाब दिएपछि बाहिर घुलमिल नहुन सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म सुरक्षित रुपमा घरमै बस्नुपर्ने बताउनुभयो । “स्वाब दिएपछि बाहिर हिँडडुल गर्न हुन्न, त्यसले थप जोखिम बढाउँछ,” उहॉले भन्नुभयो ।

    यता बैङ्कका शाखा प्रमुख माधव गैह्रेले बैङ्कको नियम अनुसार उनीहरु काममा रहेको बताउनुभयो । “उहॉहरुमा कुनै लक्षण थिएन, सुरक्षित नै हुनुहुन्थ्यो,” उहॉले भन्नुभयो, “बैङ्कको केन्द्रीय कार्यालयले पनि सुरक्षित रुपमा कामलाई नियमित गराउनु भन्ने निर्देशन दिएको छ ।” गैह्रेले ती कर्मचारीले स्वाब दिएको आफूले पनि ढिला गरी जानकारी पाएको बताउनुभयो ।

    गैह्रेले बैङ्कका थप कर्मचारीको पनि पिसीआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।