हंसले दिलमा बनाएका सात अंश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    हंसले दिलमा बनाएका सात अंश

    मुक्ति नेपाली

    ५ कार्तिक २०७७, बिहीबार

    १. प्रेमको सिमालाई राजनीतिक र भौगोलिक सिमाले आवाद गर्न सक्दैनः टौदहको सेरोफेरोमा वर्णन गरिएको हंस उपन्यास मुलतः अनेकन् कथाहरुको गुजुल्टो हो ।यहाँ कुनै कथा हाँसका छन् , कुनै कथा भ्यागुताका, कुनै बकुल्लाका, कुनै कथा सर्पका छन् भने कुनै कथा रूखबिरुवाका। ती कथाहरू प्रेमका छन्, शोषणका छन्, उत्पीडनका छन्, विजयका छन्, पराजयका छन्, धेरै थरीका छन्। यसप्रकार टौदह प्रेमको प्रतीक, प्रेमको साक्षी, प्रेमको प्रेरक, प्रेमको आलम्ब र प्रेमको अभिलेखालय  हो । यहाँ प्रेमको सिमाना तोक्न खोज्दा झन् झन् व्यापकता पाएको बुझ्न सकिन्छ ।“प्रेम” नामको पात्र जसले नशामा लट्ठिएर श्रीमतीलाई हातपात गरेपछि घर छाडेर हिड्छे । समयक्रमले अमेरिकामा अनुजसंग प्रेममा परेर विवाह गर्छे । यस्तै टौ दहमा रहने लहडे हाँस र मनसरोवरबाट आएकी उडन्ते हसिनीको प्रेम  ।अझ दहको पिधका रहेको नागराज र नागरानीको कथाभित्रको प्रेम कथा त अझ रोचक देखिन्छ ।आफ्नी नागरानीसंग लठारिएर खोकनाको किसानले खेदेको थाह पाएपछि डोब्रेसाँपलाई मार्न तयार भएको नागराजाले अन्ततः यसैसंग मित्रता गाँसेको कथाले प्रेमको सिमाना अथाह भएको जनाउदछ ।

    २. युवा अवस्था भनेको उडन्ते सपनाहरु सजाउने बेला होः यो देशका ४० लाख युवाहरु वैदेशिक रोजगारीका लागि संसारका विधिन्न देशहरुमा पुगेका छन् । अझ अमेरिकामा अवैध रुपमा छिर्नको लागि ज्यान हत्केलामा राखेर दलालहरुलाई लाखौ बुझाउन तयार हुन्छन् । उपन्यासमा त्यस्तै एक पात्र लहडे हाँस छ जो उडेर मनसरोवर पुग्न चाहन्छ तर निरन्तरको अभ्यास गर्दा समेत हिलोमा पछारिनु उसको नियती बन्छ । उड् नसकेकै कारण आफ्नी प्रेमिकालाई गुमाउन पुग्छ । नियतिले हाम्रो जस्तो तेस्रो विश्वका मान्छेहरुलाई उडन्ते बन्न हरेक कोणबाट छेकिरहेको छ ।

    ३. तथ्यको खोज ज्यादै थोरैले मात्रै गर्दछन तर उनीहरुको खोज उपेक्षित हुन्छः  महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर स्वदेशमै व्यवसायिक सम्भावना भएका औजार उपकरणहरु आविस्कार वा एसेम्बल गर्छु भन्दा सुनेको नसुन्यै गर्ने सरकारले कुनै चमत्कारी नामका बाबासाबालाई करोड रुपैया दिएको सुन्न पाईन्छ । सरकारको  आलोचना हैन हाम्रो यथार्थता यस्तै हो, नयाँपन त हामी रुचाउदैनौ रुचाउदैनौ नयाँपनको खोजी गर्नेलाई पनि उपेक्षा गर्दछौ । हाँसहरू आफू सृष्टिको सर्वोच्च सिर्जना भएको र मान्छेहरूलाई हाँसको सेवा गर्न हाँसदेउताले सृष्टि गरिदिएको विश्वास गर्छन्। यो कथा वास्तवमा मानिसहरूले हाँसलाई आहारा तुल्याउन रचेको खेल हो भन्ने उनीहरूले बुझेका छैनन्। काका हाँसले बुझेको छ। तर उसको कुरा कसैले सुन्दैन। काका टौदहको गहिराइमा पुगेर इतिहास पत्ता लगाउन चाहन्छ। उसले पत्ता लगाएको रक्तरञ्जित इतिहासप्रति कसैलाई चासो छैन। ऊ हाँस समाजबाट निष्कासित नै हुन्छ। अझ ध्यानमा रहेको वकुल्लोको न कसैले सोधखोज गर्छ न उ नै अरुको क्रियाकलामा रुचि राख्छ ?

    ४. समाज कहिल्यै पनि परिवर्तनलाइ आत्मसाथ गर्न सक्दैनः इसा पूर्व ३९९ तिर प्राचिन ग्रिक राज्यमा एकजना विख्यात दार्शनिक सुकरातलाई विष खुवाएर मारियो । उनलाई लगाइएको आरोप हो नयाँ नयाँ कुराहरु गरेर युवालाई बिगारे । सादा जिवन र सदाचारको व्यवहारिक प्रयोग सहितको दर्शनले जव युवा पङ्तिलाई आकर्षण गर्न थाल्यो उनलाई मारियो । हाँसको समाजमा विछट्टको पात्र छ लहडे हाँस, जो अन्य घरपालुवा हाँस भन्दा भिन्न उड्न चाहन्छ र उडन्ते हसिनीसंग प्रेम गास्न चाहन्छ  । अनि अर्को छ काका हाँस, जो पोखरीको गहिराइमा डुबेर वास्तविकताको खोजी गर्न चाहन्छ उनीहरु दुवैलाई  घरपालुवा हाँसहरुको समाजबाट गलहत्याइन्छ ।त्यस्तै लहडे हाँससंग प्रेममा परेकी उडन्ते हसिनीलाई पनि उसको समुहले उपेक्षा गर्दछन् ।

    ५. समाज मुट्ठिभर ठालु र बुज्रुकहरुको भ्रमात्मक मिथकहरुको पछि लाग्दछः हाम्रा नेताहरु सधै आकाशको चन्द्रमा हरेको हातहातमा राखिदिन्छु प्रकारको गफ दिन्छन् अनि जनताहरु तिनैका अघिपछि लागेर आँफु र आफ्नो स्वार्थको दललाई अब्बल देखाउनको लागि तम्तयार हुन्छौ । हंसमा मान्छेले हाँसलाई हेर्ने दृष्टिकोण र हाँसले मान्छेलाई बुझ्ने दृष्टिकोण फरक छन्। अर्काको दृष्टिकोणबाट हेर्न सक्ने केही बुज्रुक हाँस र बुज्रुक मान्छे मात्र वास्तविकताको नजिक पुग्न पुग्छन्। अन्यथा तिनीहरूको ज्ञान भनेको विश्वास र आग्रहहरूको कलेवर मात्र हो। बथानबाट दिनदिनै हराउने हाँसहरू हाँसदेवताले बोलाएकाले क्षितिज पारिको स्वर्गीय दहमा विचरण गर्न गएका विश्वासमा बाँचेका छन् हाँसहरू। त्यो उपलक्ष्यमा उनीहरू खुसीयाली साट्छन्, मेला भर्छन् र जात्रा आयोजना गर्छन्। हराएका हाँसहरू मानिसहरूले काटेर खाइसकेको कुरा काका हाँसजस्ता केहीलाई मात्र थाहा छ। हाँस देवता, स्वर्गको दह आदि कुरा फगत गफ हुन् भन्ने कुरा हाँसहरू सुन्नै चाहँदैनन्। हाँसको ठाउँमा मानिसलाई राखेर हेर्दा मानिसको नियति कहालीलाग्दो देखिन्छ।मान्छेले निर्माण गरेका स्वर्ग र नर्कका कुरा उस्तै हुन् ।

    ६. दुनियाँका हरेक प्राणीहरु भन्दा सर्वश्रेष्ठ ठान्ने पुरुष मान्छेलाई आफ्नो अहंकारले खान्छः कथाको मुख्य पात्र छ “प्रेम” उ आफ्नी श्रीमतीलाई प्रेम गर्छ तर पुरुष हुनुको अहंकारले रक्सीको तालमा राष्ट्रवादी नामको भु माफियाले  तेर श्रीमती बैंकको हाकिमसंग सल्केकी छ भनेकै भरमा रिसले घरमा पुगेर श्रीमतीमाथि जाईलाग्छ ।यहाँ उसले आफ्नो कमजोरीलाई अहंकारको आडले द्छवप्न खोजेको प्रतित हुन्छ । त्यस्तै सहायक पात्र अनुज अमेरिका जानेबेलामा पानीजहाजमा भेटिएको बुढोले आफ्नी प्रेमिकालाई पिठ्यु मिच्न लगाएको र अंग्रेजी महिलालाइ यौनतृष्णा बढेको मानेर उसलाई निकालिदिएको सन्दर्भमा प्राय पुरुषहरु यौनको मामिलामा कमजोरी लुकाउन अहंकारको प्रदर्शन गर्दछन् । यहाँ उल्लेखित पुरुष पात्रहरु आफ्नै अहम्‌ताको बोझले थिचिएका छन् ।

    ७. पिडा सबैलाई हुन्छ तर मान्छेले मात्रै पिडा बोक्छन् : उपन्यासमा हाँसका कथा छन्, नागनागिनका कथा छन्, काग बकुल्ला अनेक कथाहरु छन् तर मान्छेको पनि कथा तिनिहरुको भन्दा खास फरक छैन । फरक यत्ति छ कि चराहरु एक सिजन फुल कोरल्दासम्मका जीवनसाथी हुन्छन् अनि छुटिन्छन् भालेले अर्की पोथि खोज्छ पोथिले अर्को भाले तर मान्छेको जीवन त्यस्तो स्वच्छन्द हुनै सक्दैन । मान्छेका श्रीमान् श्रीमतीमा यदि कारणवस कसैले धोका दिइहालेमा जिन्दगीभर उसले दिएको धोका सम्झेर उ प्रति रीस पालेर बस्छ ।यदि कारणवस जोडी टुटेमा जसरी चराहरुले तुरुन्तै जिन्दगीको अर्कोसंसार शुरु गर्छन् मान्छेहरु सक्दैनन् । यादहरु पालेर बस्छन् । 

    पाठकलाई पढ्दा पढदै घनचक्करै लगाउन सक्ने पुस्तक “घनचक्कर” का लेखक सञ्जिव उप्रेतीले लेखेको पुस्तकलाई यति सरल र सहज भाषामा पाउनु असाध्यै खुशीको कुरा हो । सरल भाषा छोटा र छरिता वाक्यहरुको प्रयोग, पारिस्थितिक प्रणाली मानव र मानवइतर समुहको छुट्ट्छुट्टै कथाहरु संगालिएको पुस्तकमा १२ भाग रहेका छन् । लेखकले हंस उपन्यास मार्फत समग्र पृथ्वीको पारिस्थितिक प्रणाली, पानीका जिवहरुको जिन्दगी, उडन्ते जिवहरुको जिन्दगी, घरपालुवा पशुपन्छीहरुको अवस्था, मानव जिवनका दुखाइ भोगाईहरु महिला माथि पुरुषको अहंकारी दमन् विभिन्न विषयहरुको प्रभावकारी उठान गरेका छन् जुन वास्तविकताको नजिक पनि छ ।

     नेपाली साहित्यका पाठकहरुको लागि सञ्जिव उप्रेती नयाँ नाम हैन । ६२/६३ को आन्दोलनको परिवेशमा आधारित रहेर लेखिएको उपन्यास घनचक्कर पढेपछि  झण्डै एक महिना सोही पुस्तकका पात्रहरु र वर्णित स्थानको खोजीमा घनचक्कर लगाइरहनु ले पनि प्रस्ट पार्दछ कि लेखकले पाठकको मनमा कस्तो प्रभाव पारेको रहेछ ।