तनहुँ : एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका सहिद शान्ति पार्कमा प्यागोडा शैलीको मन्दिर निर्माण सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेको शान्ति पार्कभित्र रु दुई करोड ५६ लाखको लागतमा प्यागोडा शैलीको आकर्षक मन्दिर निर्माण सम्पन्न भएको हो । पार्कका कोषाध्यक्ष एकबहादुर रानाले मन्दिरको सम्पूर्ण काम सकिएको र बाहिरी भागमा केही निर्माणका काम बाँकी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्दिरको बाहिर घण्टा झुण्ड्याउने पिल्लरमा ढुङ्गा बिछ्याउन, मन्दिरको साइडमा पर्खाल लगाउन मात्र बाँकी छ । गत फूलपातीकै दिन मन्दिरको उद्घाटन गर्ने गरी कामलाई अगाडी बढाइएको भएतापनि कोभिडका कारण उद्घाटन गर्न नसकिएको रानाले जानकारी दिनुभयो । “मन्दिर निर्माणको काम तीव्र गतिमा चलिरहँदा कोभिड–१९ को प्रकोपका कारण काम प्रभावित भयो, पछि स्थिति अलि सहज भएपछि निर्माण कार्यलाई तीव्रता दिएका थियौ,” उहाँले भन्नुभयो, “मन्दिरको काम सम्पन्न भएपनि हाललाई मन्दिर उद्घाटन गर्न सकेनौ ।”
तीन तले र ५५ फिट उचाईको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको ६० वटा टुडाल हालिएको छ भने मन्दिरमा ९ फिट उचाईको गजुर राखिएको छ । मन्दिर निर्माणका लागि गत आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख बजेट विनियोजन भएको थियो ।
व्यास नगरपालिकाले विनियोजन गरेको रु १० लाख र उपभोक्ता समितिको समेत गरी रु १२ लाखको लागतमा पार्कभित्र सार्वजनिक शौचालय, वडा नं ४ मार्फत् विनियोजन भएको रु १० लाखको लागतमा ८० मिटर बाटो ढलान र ४० मिटर नाला निर्माण सम्पन्न भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत दमौली बजारबाट एक किमिको दूरीमा रहेको उक्त पार्कसम्म पुग्नका लागि पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधनका लागि बाटो पक्की बनाइनेछ । “अप्ठ्यारो रहेको ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ, प्रदेश सरकारबाट बजेट विनियोजन भएको खण्डमा माथिसम्म नै बाटो पक्की बनाउने लक्ष्य छ,” रानाले भन्नुभयो । मन्दिरमा गत वर्षको फूलपातीको दिन रु ४ लाख ४० हजारको लागतमा निर्माण गरिएको मूर्ति प्रतिस्थापन गरिएको थियो ।
पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी रहेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कलाई गुरुयोजना अनुसार विकास गर्न रु पाँच करोड भन्दा बढि बजेट आवश्यक पर्दछ ।
३७ हेक्टर क्षेत्रफलमा काँडे तारवार, १० फिट चौडाईको १ किमि पक्की सिंढी निर्माण, २ वटा वनभोज स्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेको छ भने रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको छ ।
विसं २०६३ साल भदौ १३ गते सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको जनसहभागितामा ३६ वर्गफिटको टिनको छानो भएको तनहुँ कालिका मन्दिरको स्थापना भएको थियो । आर्थिक वर्ष ०६६÷६७ मा स्थानीय विकास मन्त्रालय मार्फत् व्यास नगरपालिकाको जगेडा कोष र स्थानीय उपभोक्ताहरुबाट सहयोग गरी रु. ३७ लाख ८३ हजार ५ सय ९२ को लागतमा वन क्षेत्रलाई पक्की पिल्लर सहित काँडे तारवार लगाउने भएको थियो । आर्थिक वर्ष ०६७÷६८ मा शान्ति तथा पुर्ननिर्माण मन्त्रालय मार्फत् जिल्ला प्राविधिक कार्यालयबाट प्रापत रु. १७ लाख ६७ हजार ७ सय ५० को लागतमा मन्दिरसम्म पुग्ने बाटो र सिँढी निर्माण गरिएको थियो ।
आर्थिक वर्ष ०६८÷६९ मा शान्ति तथा पुर्ननिर्माण मन्त्रालय मार्फत् जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त रु. १९ लाख ८ हजार ७ सय ४ को लागतमा मन्दिरसम्म मोटर पुग्ने गरी बाटो निर्माण र रिटेनिङवालको काम भएको थियो भने ०६९÷७० मा प्राप्त रु. ८ लाख ७९ हजार ५ सय ६८ले मन्दिरको पानी ट्याङ्कीसम्म पुग्ने पिपिआर पाइप खरिद र गाड्ने काम भएको थियो ।
त्यस्तै ०७१÷७२ मा प्राप्त रु. १२ लाख ६ हजार ३ सय ७५ को लागतमा मन्दिरको तीन वटा पेटी चारैतिर सिढी निर्माणका साथै चार वटा मुख्य पिल्लर सहित जग बसाल्ने काम भएको थियो । आर्थिक वर्ष ०७२÷७३ मा प्राप्त रु. ६३ लाख ९१ हजार ९४ को लागतमा विद्युत व्यवस्थापन, मन्दिर ढलान, दुई वटा पिकनिक स्थल निर्माण लगायतका काम सम्पन्न भएको थियो ।
आर्थिक वर्ष ०७३÷७४ मा व्यास नगरपालिका, सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु. ३३ लाख १२ हजार ५ सय २२ को लागतमा मन्दिरको सम्पूर्ण ढलान गर्ने कार्य सम्पन्न गरि बाटो मर्मत गरिएको छ । आर्थिक वर्ष ०७४÷७५ को असारसम्ममा व्यास नगरपालिबाट अनुदान सापटी र सहयोग गरी प्राप्त रु. ४४ लाख ६४ हजारको लागतमा मन्दिरमा झ्यालढोका, टुडाल, बुट्टेदार इट्टा, मूर्ति खरिद लगायतका कामहरु भएको थियो ।
गुरुयोजना अनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, सहिद स्मारक पार्क, बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्युटावर, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण हुन बाँकी छ । तनहुँको सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब ८ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका सहिद शान्ति पार्क पर्दछ । यस ठाउँबाट दमौली बजार लगायत आसपासका वस्तीहरु, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीय स्थलहरु अवलोकन गर्न सकिन्छ ।