तनहुँ : क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । क्षमता भन्दा बढी यात्रु बोक्ने चार वटा माइक्रोलाई प्रहरीले बिहीबार कारवाही गरेको हो ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड भएर सञ्चालन हुने सवारी साधनलाई बन्दीपुरको विमलनगरमा चेकजाँच गर्दा क्षमता भन्दा बढी यात्रु बोकेको पाइएपछि ती सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।
“लमजुङबाट नारायणगढतर्फ र काठमाडौतर्फ जाँदै गरेका माइक्रोमा क्षमता भन्दा बढी यात्रु राखेको पाइएपछि ती सवारी साधनको कागजात नियन्त्रणमा लिएका छौ,” उहाँले भन्नुभयो, “ती सवारी साधनलाई थप कारवाही हुन्छ ।” क्षमता भन्दा बढी यात्रु बोकेको सवारीबाट यात्रुलाई ओरालेर अर्को सवारी साधनमा गन्तव्यतर्फ पठाइएको रानाभाटले बताउनुभयो । प्रहरीले बिना कागजात मोटरसाइकल, स्कूटर चलाउनेलाई पनि कारवाही गरेको छ ।
चाडपर्वका क्रममा सर्वसाधारणको यात्रालाई सुरक्षित बनाउने उद्देश्य सहित प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेल लगायतको टोलीलेसवारी साधनको चेकजाँच गरेको थियो । ट्राफिक प्रहरीले दशैंको बेला पनि बढी भाडा असुल्ने सवारी साधनलाई कारवाही गरेको थियो । चेकजाँचलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।