मानहुँकोटको फोहरमैला व्यवस्थापनका लागि डस्टविन सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मानहुँकोटको फोहरमैला व्यवस्थापनका लागि डस्टविन सहयोग

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०७७, शुक्रबार

    तनहुँ : पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटको फोहरमैला व्यवस्थापनका लागि रेन्ट टेण्टले डस्टविन सहयोग गरेको छ । मानहुँकोटमा पर्यटकको सङ्ख्या बढ्न थालेसँगै फोहरमैला पनि बढेपछि त्यसको व्यवस्थापनका लागि रेन्ट टेण्टले आठ थान डस्टविन सहयोग गरेको हो ।

    सञ्चालक मुख्तार अहमद मियाँ र रम्जान अलीले वडाध्यक्ष मोहनकुमार श्रेष्ठलाई शुक्रबार उक्त डस्टविन हस्तान्तरण गर्नुभएको छ । व्यवसायसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै पर्यटकीय स्थलको फोहरमैला व्यवस्थापनका लागि डस्टविन सहयोग गरिएको मियाँले जानकारी दिनुभयो । साथै दुई सय थान मास्क समेत सहयोग गरिएको छ ।

    मानहुँकोटमा पर्यटक बढेसँगै फोहरमैला पनि बढेकाले फोहरमैला व्यवस्थापनका लागि वडाले पनि पहल गर्दै आइरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दमौलीस्थित विभिन्न युवा क्लवको सहयोगमा बेला बेलामा सरसफाईका कार्यक्रम सञ्चालन गरिँदै आएको श्रेष्ठले बताउनुभयो । मानहुँकोटको दीर्घकालिन फोहरमैला व्यवस्थापनका लागि वडाले एक जना कर्मचारी नियुक्त गर्ने तयारी गरेको पनि श्रेष्ठले बताउनुभयो ।

    पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको मानहुँकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि दैनिक एक हजार भन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
    राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ ।

    वडाध्यक्ष श्रेष्ठका अनुसार तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, लमजुङ, चितवन, गोरखा लगायतका जिल्लाबाट पर्यटक मानहुँकोट आइरहेका छन् । मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।

    मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ ।