तनहुँ : तनहुँको दक्षिणी भेगको घिरिङ गाउँपालिकाका जनप्रनिधिलाई भ्यू टावर बनाउने मोह जागेको छ । घिरिङकोटको डाँडामा भ्यू टावर ठड्याईसकेको गाउँपालिकाले फेरि दुई स्थानलाई छनोट गरी प्रकृया अगाडी बढाएको छ ।
राजमार्गलाई नछोएकाले पर्यटनको सम्भावना हँुदा समेत ओझेलमा परेपछि घिरिङ गाउँपालिका–३ घिरिङकोट डाँडामा तीन तलाको भ्यू टावर निर्माण भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा छुट्याएको २० लाख रुपैयाँले चिटिक्क परेको भ्यू टावर निर्माण भएको हो ।
भ्यू टावरबाट समग्र घिरिङको दृश्यावलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष रनबहादुर राना बताउनुहुन्छ ।
त्यहाँबाट देखिने हिमश्रृङ्खला, हरियाली पहाडका तरेली, कालीगण्डकी नदीको नागबेली बगाई, झुरुप्प परेका घिरिङका गाउँबस्तीको दृश्यले आकर्षित गर्ने उहाँको दाबी छ ।
“घिरिङ चौबिसे राज्य अन्तर्गतको एक राज्य हो । घिरिङकोटमा राजाले प्रयोग गरेका पुराना हातहतियार र दरबारको भग्नावशेष छ । ऐतिहासिक थलोमा पर्यटकको चहलपहल बढाउन भ्यू टावर बनाएका छौं,” अध्यक्ष रानाले भन्नुभयो ।
गाउँबाट शहर बसाई झर्नेको लर्को रोक्न गाउँपालिकाले स्थानीयवासीलाई आर्थिक गतिविधिसँग जोड्न पर्यटनको प्याकेज निर्माण गरिरहेको उहाँले सुनाउनुभयो । “कला संस्कृतिमा त हामी धनी नै छौँ । पर्यटक आउनलाई पूर्वाधार पनि चाहिदो रहेछ,” उहाँले भन्नुभयो, “गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल, भ्यू टावर र होमस्टे बनाउन जोड दिएको छ ।”
गाउँपालिकाको वडा नं २ गजरकोट र वडा नं ५ को चन्द्रकोटमा पनि भ्यू टावर बनाउन यस वर्ष बजेट विनियोजन गरेको छ । गजरकोट भ्यू टावरका लागि १० लाख रुपैयाँ र चन्द्रकोटलाई २० लाख रुपैयाँ बजेट छुट्याएको अध्यक्ष रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बहुबर्षीय योजना हो । अपुग भएको बजेट आगामी वर्ष पनि थपिन्छ ।”
घिरिङकोट भ्यू टावरमा काखैमा छ उवाथोक गाउँ । मगर समुदायको बसोबास रहेको उवाथोकका आठ घरमा यसै वर्षदेखि होमस्टे सञ्चालनमा ल्याईएको छ । भ्यू टावर बनेपछि होमस्टे आउने पर्यटक बढ्नेमा विश्वस्त हुनुहुन्छ उवाथोक सामुदायिक होमस्टेका अध्यक्ष पूर्णसिंह थापा । कोरोना कहरकै बीचमा पनि भ्यू टावरमा पर्यटक आईरहेको उहाँले बताउनुभयो ।
“यतिबेला कोरोनाको डरले होमस्टेमा पाहुना राखेका छैनौँ । दृश्यावलोकन गर्न आउने आउने आन्तरिक पर्यटकको चहलपहल बढेको देख्दा होमस्टेमा पनि पाहुना बढ्नेमा आशावादी छौ,” उहाँले सुनाउनुभयो ।
हुन त नेपालका अग्ला डाँडाकाडाँ आफैँमा प्राकृतिक भ्यू टावर हुन् । हिमालदेखि तराईसम्मका दृश्य एउटै थलोमा उभिएर नियाल्न सकिन्छ कतिपय स्थानबाट । पूर्वाधार अभावले ती अग्ला डाँडाबाट जतिसुकै मन लोभ्याउने दृश्य देखिएपनि पर्यटक उक्लन चाहँदैनन् । जनप्रतिनिधि निर्वाचित भएर आएपछि तनहुँका स्थानीय सरकारको नजर अग्ला डाँडामा परेको छ । अग्ला डाँडामा गगनचुम्बी भ्यू टावर बनाई पर्यटक उकाल्न जोडबल गरिरहेका छन जनप्रतिनिधि ।
दशैँपछि तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट भाईरल छ । फेसबुक र टिकटकमा मानहुँकोटको फोटो र भिडियो सर्वत्र भेटिन्छ । कोरोनाको डर भुलेर दमौली बजारलाई कुहिरोले ढपक्कै ढाकेर सूर्य उदाएको मस्त दृश्य नियाल्न दैनिक हजार बढी पर्यटक दमौलीबाट मानहुँकोटसम्मको उकालो चढ्छन् । प्राकृतिक रुपमै ‘दृश्यावलोकन विन्दु’ बनेको यो ठाउँमा अझ धेरै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न वडा कार्यालयले दृश्यावलोकन विन्दु निर्माण शुरु गरेको छ ।
४० लाखको लागत अनुमान गरिएकोमा ३६ लाख ५० हजार रुपैयाँमा दृश्यावलोकन विन्दु निर्माणको ठेक्का लागेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । निर्माणको ठेक्का माता वाराही कन्स्ट्रक्सन प्रालिले पाएको छ । दृश्यावलोकन विन्दु दुई तलाको हुने वडाध्यक्ष श्रेष्ठले बताए । उहाँले भन्नुभयो, “दृश्यावलोकन विन्दुको पहिलो तलामा कफी सप र माथिल्लो तलामा शिशाको घर हुनेछ ।” अबको ६ महिनाभित्र दृश्यावलोकन विन्दु निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । पर्यटकीय गन्तव्यका रुपमा विकसित मानहुँकोटको प्रचारका लागि दृश्यावलोकन विन्दुले थप टेवा पु¥याउने उहाँको भनाई छ ।
गत आर्थिक वर्षमा व्यास नगरपालिका–६ गलेखामकोटमा तीन तले भ्यूटावर निर्माण गरिएको छ । धार्मिक पर्यटनको सम्भावना रहेको यहाँ पर्यटक भित्र्याउन भ्यूटावर निर्माण गरेको वडाध्यक्ष सूर्यभक्त भण्डारीले बताउनुभयो । १६ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भ्यूटावरबाट २० जना बढीले दृश्यावलोकन गर्न सक्ने भण्डारीले जानकारी दिनुभयो ।
भ्यू टावर बनेपछि गलेखामकोटमा आन्तरिक पर्यटक बढेको उहाँले सुनाउनुभयो । “लकडाउनको बेलामा पनि आन्तरिक पर्यटक आइरहे,” उहाँले भन्नुभयो । यहाँबाट कास्कीका तालहरु, माछापुच्छ«े, धवलागिरी, अन्नपूर्ण, मनास्लु लगायतका हिमालको दृश्य अवलोकन गर्न सकिने भण्डारीले जानकारी दिनुभयो । गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको स्थान हो ।
भिमाद नगरपालिका– ९ पाइमी डाँडामा पनि गत वर्ष भ्यू टावर निर्माण गरिएको छ । एक हजार एक सय ५७ मिटर उचाईमा रहेको डाँडामा तीन तलाको भ्यू टावर बनाईएको हो । ३६ फिट अग्लो फलामे भ्यूटावर निर्माणमा आठ लाख रुपैयाँको लगानी भएको छ । नगरपालिकाले छ लाख ७५ हजार रुपैयाँ, स्थानीयवासीले एक लाख २५ हजार रुपैयाँको जनश्रमदान चन्दा सङ्कलन गरेको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो ।