तनहुँ : ‘बर्षाको भेलमा केटाकेटी विद्यालय आउजाउ गर्दा ज्यानको बाजी थापेर खोला तर्नुपर्छ । हिउँदमा सुकेर खोला सानो भएनी बर्खामा वारपार भएर बग्ने गर्दछ । पुल बनेसी त ठुलै राहत मिल्नेछ’, बर खोलामा मोटरेवल पुलको शिलन्यास हुदैँ छेउबाटै नियालीरहेका जरेबरका बुजोसत्त महतले खुशी हुँदै भन्नुभयो । खोला तर्नलाई बनाएको बाँसको फड्के पटक–पटक खोलाले बगाइदिएको उहाँ बताउनुहुन्छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका –११ र भिमाद नगरपालिाका–९ को सिमाना हुदै बग्ने वर खोलाले बर्खामा बेस्सरी दुख दिन्छ । महतका अनुसार खोला उर्लिदा सवारीसाधन चल्दैन् । चर्को घाम लागेपछि उर्लिएको खहरे खोला सुक्ला र खेतबारीको काममा जाउला भन्दैमा दिन बित्छ स्थानियको ।
बर्षौदेखी यस्तै पिडा भोग्दै आएका दुई नगरपालिकाका स्थानियलाई समयमै पुल निर्माण भएको खण्डमा आगामी बर्खाको बेला सहज हुनेछ । यही आर्थिक बर्षमा निर्माण सक्ने लक्ष्यका साथ बुधबार वरखोलामा मोटरेबल पुल शिलन्यास भएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पुलको शिलन्यास गर्नुभयो । पुल निर्माण भएपछि तनहुँका दुई स्थानिय तहलाई मात्रै नभएर दुई प्रदेश निर्वाचन क्षेत्रलाई समेत जोड्नेछ ।
पुल शिलन्यास भएपछि स्थानियमा समृद्धीको आशा पलाएको छ । ‘विद्यालय, बजार, कार्यालय जान खोला तर्नुको विकल्प छैन् । जोखिम मोलेरै भएपनि खोला तर्नुपर्ने समस्यामा पुस्तौदेखी गुज्रिएका छौँ’, शिरबहादुर महतले भन्नुभयो, ‘पुलको शिलन्यास भएपछि खुशी त छौँ नै । तर, ढिलो नगरी छिट्टै निर्माण सकियोस् ।’ पुल निर्माण सम्पन्न भएपछि स्थानियस्तरमा उत्पादित कृषी उपजले सहजै बजार पाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत पुल बन्न लागेको हो । ३ करोड ९८ लाख ६३ हजार २ सय ७७ रुपैयाँ लागत अनुमान गरिएकोमा मुक्तिनाथ दिपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ३ करोड ३६ लाख ७५ हजार ६ सय ३६ रुपैयाँमा (भ्याट सहित) ठेक्का पाएको पूर्वाधार विकास कार्यालयका प्रमुख तनहुँका ओमराज ढुंगाना जानकारी दिनुभयो । उहाँका अनुसार पुल ३२.४ मिटर लामो हुनेछ । २२ असार २०७८ मा पुल निर्माण सक्ने सम्झौता भएको उहाँले बताउनुभयो । नदीले बर्खामा अत्याधिक कटान गर्ने भएकाले त्यसलाई रोक्न १३ सय घनमिटर ग्याबिन भरिने उनले जनाउनुभयो ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आवश्यक स्थानमा प्रदेश सरकारले पुल निर्माण गर्दै जाने बताउनुभयो । ‘सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक बर्षमा आवश्यक अन्य स्थानमा पनि पुल बन्नेछन्’, उनले विश्वस्त पार्दै भन्नुभयो । सिंचाईका आयोजना, एक घर एक धारा खानेपानीको कार्यक्रम र प्रदेशका सबै घरधुरीमा बिजुली बत्ती पु¥याउने कार्यक्रम प्राथमिकता साथ अगाडी बढाएको उहाँको भनाई छ ।
प्रदेशसभा सदस्य आशा कोईरालाले पुलको काम समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उनले बिकास निर्माणको काम समयमै सक्न उपभोक्ताको समेत महत्वपुर्ण भुमिका रहने बताउनुभयो । ‘कामको गुणस्तरियताबारे उपभोक्ताले चासो दिएर बेलाबखतमा अनुगमन गर्दै गर्नुहोला । केही त्रुटी भेटिएमा सम्बन्धित कार्यालयको ध्यानआर्कषण गराउन सक्नुहुन्छ, उहाँले भन्नुभयो ।
शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले जनताका समस्या तीन तहका सरकार मिलेर समाधान गर्ने बताउनुभयो । प्रदेश सरकारको बजेटमा बन्न लागेको पुलमा स्थानिय सरकारबाट आवश्यके सहयोग गर्न तत्पर रहेको उहाँको भनाई छ ।
भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले दुई स्थानिय तहलाई जोड्ने पुललाई मितेरी पुलको रुपमा बिकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।