काठमाडौ: हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएसँगै ११ दिनपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कात्तिक १० गते कोरोना पोजेटिभ देखिएका गजुरेल सशस्त्र प्रहरीका बलम्बुमा रहेका अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
आइतबार गजुरेलले आफु कोरोनामुक्त भएर घर फर्किएको जानकारी दिनुभएको छ । उहॉले आफ्नो फेसबुकमा लेख्नुभएको छ, “११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।”
उच्चस्तरको उपचार सेवा दिएको भन्दै उहॉले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिनुभएको छ ।
उहॉले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिनुभएको छ ।