तनहुँ : तनहुँको भानु नगरपालिकाका जङ्गलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएको क्यामरामा २५ चितुवाको तस्वीर कैद भएको छ । डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिकाका विभिन्न वडाका जङ्गलमा राखिएका क्यामरामा २५ चितुवाको तस्वीर कैद भएको हो ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानु नगरपालिका–२, ३, ४, ५ र ६ का सामुदायिक वनमा ६५ वटा क्यामरा जडान गरिएको छ । कात्तिक २२ गतेदेखि १५ दिनसम्म जङ्गलमा क्यामरा जडान गरिएकामा चितुवाका तस्वीर कैद भएको र उक्त तस्वीरको अध्ययन भइरहेको बरालले जानकारी दिनुभयो ।
“कतिपय चितुवा दोहोरिएका छन्, चितुवाको तस्वीर हेरेर छुट्याउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “केही दिनभित्रै अध्ययनको प्रतिवेदन सार्वजनिक गर्छौ ।” बरालका अनुसार भानु नगरपालिका–२ मजुवा ओख्लेमा जडान गरिएको क्यामरामा एउटै चितुवा लगातार तीन दिन देखिएको छ । “अन्य स्थानमा पनि त्यस्तो भए÷नभएको बारेमा हेरिरहेका छौ,” उहाँले भन्नुभयो ।
२२ सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिएको थियो । त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको थियो ।
चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा चितुवा गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताउनुभयो । “वनमै चितुवाको आहारा व्यवस्थापन गर्न सके चितुवा मानवबस्तीसम्म आउँदैन, चितुवाले खाने आहारा प्रजाति मानिसले नै शिकार गरेर मार्ने काम गरिरहेका छन्,” उहाँले भन्नुभयो, “मानिस मात्रै बाँचेर हुन्न, सबै जीवजन्तु बाँच्नुपर्छ, त्यसका लागि वातावरण बनाउने मानिसले हो ।”
उहाँका अनुसार चितुवाको आहारा मान्छे होइन, तर आहारा नपाउँदा चितुवाले बाध्य भएर मानिसमाथि आक्रमण गर्ने गरेको छ । बढीमात्रामा पोथी चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको छ । “पोथी चितुवाले मानिसमाथि आक्रमण गर्दा माउसँग हुर्किएको चितुवाको बच्चाले पनि मान्छेलाई आक्रमण गर्न सिक्ने हुन सक्छ,” बरालले भन्नुभयो ।
उहाँका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको बताउनुभयो ।
तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई सचेतनामूलक कार्यक्रम अगाडी बढाइएको छ । “चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै हो, तर जीवजन्तु मानिसले खाइदिन थाले, चितुवाले जङ्गलमा खाना पाउँदैन अनि बस्ती छेउ आएर गाईभैसी, बाख्रा हुँदै मानिसलाई पनि आक्रमण गर्न थालेको छ,” उहाँले भन्नुभयो, “चितुवालाई बाँच्ने अवस्था सिर्जना मानिसले गरिदिनुपर्छ ।”
उहाँका अनुसार जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । “वनजङ्गलमा भएका पानीका स्रोत मासिदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।” काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ ।
फाइल तस्वीर