दुलेगौँडा : पोखरा चाउथेमा फालिएको प्लाष्टिकबाट बनेको सडकमा सवारी गुडेको वर्षौ भईसक्यो । काठमाडौँमा प्रकृति मैनालीले फालिएकै बोराबाट सुन्दर झोलाहरु बनाएर विदेश निर्यात गरिरहनुभएको छ । प्रयोग गरेपछि रित्तिएका प्लाष्टिकका बोत्तल र खाली सिसीहरुको प्रशोधन र पुनः प्रयोग गरी नयाँ सामान तयार पार्ने कम्पनीले पनि निरन्तर काम गरिरहेकै छन् । फुटेकै सिसाबाट पनि विभिन्न प्रकारका उपभोग्य सामाग्री बनाउन सकिने तरिका सामाजिक सञ्जालहरुमा प्रशस्त भेटिन्छ । तर, पनि बजार छेऊका नदी किनार फोहोरको विछ्यौना बनिरहेकै छन् ।
डोको रिसाईकलर नेपाल नामक फोहोर व्यवस्थापन सम्बन्धी संस्थाका सञ्चालक पंकज पञ्जियारका अनुसार हामीले फाल्ने फोहोरमध्ये कम्तीमा ८५ प्रतिशत फोहोर पुनः प्रशोधन गर्न मिल्ने हुन्छन् । प्रयोग गरीसकेपछि हामीले काम नलाग्ने ठानेका कागज, प्लाष्टिक, फलाम, सिसा, इलेक्ट्रोनिक फोहोर लगायतका धेरै फालिने सामान प्रशोधन गर्ने कम्पनीलाई बेच्दा हामी “फोहोरबाट मोहोर” पनि कमाउन सक्छौ । तर पनि दिनानुदिन हाम्रा नदी किनार, अस्पताल छेउका खाली भु–भाग लगायतका सार्वजनिक जग्गाहरुमा फोहोरको परिमाण बढिरहेको देख्न सकिन्छ ।
तीव्र शहरीकरण भैरहेका तनहुँ जिल्लाका दुई नगरपालिकाले नदी किनारलाई नै डम्पिङ साइटका रुपमा दुरुपयोग गरिरहेका छन् । शुुक्लागण्डकी र भिमाद नगरपालिकाले पवित्र सेती नदी किनारलाई फोहोर फाल्ने ठाउँ बनाएका छन् । ब्यास नगरपालिकाले पनि मादी नदी किनारमा फोहोर फाल्दै आएकोमा यसपालीको बर्खामा नदीले कटान गरेपछि व्यक्तिको जग्गा भाडामा लिएर फाल्न थालेको छ । व्यासले कुहिने र नकुहिने गरी दुई प्रकारमा फोहोरको वर्गीकरण गरेर उठाउने भएपनि नकुहिने फोहोरहरुबाट काम लाग्ने बस्तु बनाउन सकेको छैन ।
शुक्लागण्डकी र भिमाद नगरपालिकाले त झनै सबै किसिमका फोहोर एकै पटक उठाउँछन् । नदी किनारमा फालिएका दुर्गन्धित जोखिमयुक्त त्यस्ता फोहोर पुर्ने काम नियमित हुदैंन, दिनहुँजसो फोहोरका थुप्रोबाट धुँवाको मुस्लो उडेको देखिन्छ । तर, फोहोरमा आगो लगाएको कुरा नगरपालिकाका कर्मचारी स्वीकार गर्दैनन् । फोहोर व्यवस्थापनका लागि २ वर्ष अघि नै संकलन केन्द्र स्थापना गरिएतापनि कार्यपालिकाको स्पष्ट निर्णय नगर्दा कार्यान्वयनमा ल्याउन नसकिएको शुक्लागण्डकी नगरपालिकाका वातावरण शाखा प्रमुख राजेन्द्र सोतीले बताउनुभयो ।
प्लाष्टिक जन्य वस्तुको उत्पादनको क्रममा कार्बनडाईअक्साईड, हाईड्रोजन साइनाइड जस्ता विषाक्त रसायन निस्कने गर्छ । .Carcinogenic, Neurotoxic, hormone-disruptive रसायनहरु प्लास्टिक उत्पादनका आवश्यक तथा फालिएका रसायनहरू हुन जुन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पानी, जमीन, हावामा मिसिन्छ र जलचर, थलचर प्राणीलाई असर पु¥याउँछ। Carcinogenic रसायनले क्यान्सर निम्त्याउनु साथै यसले डिएनए लाई असर पुर्याउँने बैज्ञानिकहरु बताउँछन् । यसले फोक्सो, स्तन, ठूलो आन्द्रा र पेटको क्यान्सर गराउँछ जसबाट वर्षेनी कैयौ मानिस तथा अन्य प्राणीको मृत्यु हुने गरेको छ । स्तन क्यान्सरका कारण विश्वमा वर्षेनी १० लाख ४० हजार मानिस ग्रसित हुने गरेको तथ्य पनि हालै प्रकाशित भएको छ । स्तन क्यान्सरका बिरामीको संख्या नेपालमा पनि बढिरहेको छ ।
यसबाहेक फोक्सो, ठूलो आन्द्रा तथा पेटको क्यान्सर पनि प्लाष्टिकका रसायनहरुको असर स्वरुप देखिने गर्छ । Carcinogenic, Neurotoxic / Hormone-disruptive रसायन पानीमा पर्दा यसले जलचर प्राणी को मृत्यु गराउँछ साथै सम्पूर्ण सजीव प्राणीलाई नै हानि पुर्याउँछ। वास्पिकरण भई जाने हुँदा अम्लीय वर्षको अत्यधिक सम्भावना गराउँछ । प्रतक्ष्य रूपमा प्लास्टिक पानीमा फाल्दा जलचर प्राणी ले खानाको रूपमा सेवन गर्न सक्छन् जसले गर्दा मृत्यु हुने जोखिम हुन्छ ।
प्लाष्ट्रिकजन्य फोहोरले हरितगृह प्रभाव, ओजोन तहको नाश, अत्यधिक मात्रामा कार्बन डाइअक्साइड को वृद्धि, उत्पादन मुलक क्षेत्रमा रास जस्ता वातावरणीय असर पु¥याउँछ ।
नेपालमा वायु प्रदुषणको कारण गत वर्ष अर्थात् सन् २०१९ मा मात्रै ४२ हजार एक सय जनाको मृत्यु भएको तथ्य हेल्थ इफेक्ट्स अफ ईन्स्टिच्युटको प्रतिवेदन ‘स्टेट अफ ग्लोबल एयर २०२०’ मा उल्लेख छ ।
फोहोरमा आगो लगाउँदा त्यसले फैलाउने प्रदुषणको असरबारे अनभिज्ञ कोही नहोला र पनि फोहोरको थुप्रोबाट अध्याँरा मुस्लाहरु निस्कन कम भएको छैनन्। आगो लगाउँदा पनि नजलेका फोहोर अझ डरलाग्दा हुन्छन् । त्यस्ता फोहोर नदीमा बाढी आउँदा बगेर कृषकका खेतबारीमा सम्म पुग्छन् । वर्षाको भेलसंगै बगेर आएका सिसा, टिन, फलाम वा धारिला वस्तुका टुक्राले कृषकका हात खुट्टा काट्ने गरेको पनि छ ।
यति मात्रै होईन जे पायो त्यही फोहोरको पोकोमा मिसाएर फालिदिदाँ फोहोर उठाउँदै हिड्ने नगरपालिकाका सरसफाई कर्मचारी, फोहोरको थुप्रोबाट कवाडी सामान संकलन गर्ने मानिसहरु बढि पिडित छन् । ट्रिपरमा फोहोर उठाउँदै हिड्ने क्रममा शुक्लागण्डकी नगरपालिकाका सरसफाई कर्मचारी राम बहादुर परियारको टाउकोमा दुलेगौंडाका एक व्यक्तिले हुत्याएको फोहोरको पोको बजारियो, फुटेका सिसा फालेका रहेछन् थाप्लोमै चोट लाग्यो । फोहोरको उचित व्यवस्थापन गर्न नसक्दाका असरहरु प्रष्ट भोगिरहेको भएपनि स्थानीय तहले फोहोरबाट फेरि प्रयोग गर्न योग्य बस्तु कसरी छुट्ययाउन सकिन्छ ? कसरी कम भन्दा कम फोहोर मात्रै ल्याण्डफिल्ड साईटसम्म पु¥याउन सकिन्छ भन्ने तर्फ ध्यान दिएको दैखिदैंन । फोहोरको सदुपयोग गर्ने, फोहोरबाटै कमाई गर्ने, प्रयोगमा आईसकेका प्रक्रिया तथा नयाँ उपायहरुको खोजी र व्यवहारिक प्रयोगतर्फ प्रत्येक स्थानीय तहले समयमा नै कदम चाल्ने हो भने वातावरण जोगाउन उल्लेख्य मद्दत पुग्नेछ ।
फोहोरमा चुर्लुम्मै डुबेकी मंगलीमाया
४३ बर्ष उमेर बताउने मंगलीमाया विकको दैनिकी फोहोरको डंगुरमा बित्छ । सुर्य उदाएपछि नअस्ताउँदासम्म शुक्लागण्डकी नगरपालिकाको बजार क्षेत्रका घर, पसल, कार्यालय, मेडिकल, अस्पतालबाट संकलन गरी शुक्लागण्डकी–५ झरौटा (जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र परिसर) मा फ्याँकिएको फोहोरको रासबाट प्लाष्टिकका बोत्तल, सिसाका बोत्तल, बोरा लगायतका पुनः प्रयोगमा ल्याउन मिल्ने बस्तु संकलनमा तल्लिन हुनुहुन्छ मंगलीमाया । फोहोरको रासमा हराउने मंगलीमायाको मुखमा न मास्क हुन्छ, न त हातमा पञ्जा ।
प्रदुषित धारिला फोहोरलाई छुदाँ हुने सम्भावित संक्रमणबाट जोगाउने सामाग्री हातखुट्टामा नभएपनि उहाँका गलामा झण्डै आधा दर्जन आकर्षक माला, पोते र नक्कली गहनाहरु झुण्डिरहेका थिए । देख्दा अचम्म लाग्ने पहिरनको वास्तविकता उहाँले आफैं खोल्नुभयो– “यी सबै माला मैले फोहोरमा भेटाएकी हुँ, मान्छेहरु कत्ति सद्वे–सद्वे सामान पनि फाल्छन्, नचाहिने रैछ कि क्या हो।”
नगरपालिकाको टिपरमा वर्गीकरण नगरीकन उठाएर फालेका फोहोरको थुप्रोमा फुटेका सिसा, सुई, खियाँ लागेका काटी–टिन, गन्हाईरहेका सेनेटरी प्याड, डाईपर जस्ता छुनै घिनलाग्दा र खतरनाक सामानहरु यत्रतत्र हुन्छ । स्वास्थ्य तथा सुरक्षाका दृष्टिले अत्यन्तै जोखिमपुर्ण त्यस्ता फोहोरबाट पैसा पर्ने चिजहरु “कवाडी” संकलन गर्ने मंगलीमायालाई न कोरोनाको भय छ न अन्य स्वास्थ्य संक्रमणको । कोरोना संक्रमणबाट जोगिन विश्व समुदायले आफ्नै परिवारका सदस्यसंग समेत दुरी बढाईरहेका बेला मंगलीमायाले भने साँझ विहानको हात मुख जोर्ने खुराक जुटाउन हजारौँले फ्याँकेको फोहोरलाई बेपर्वाहा साथी बनाईरहनुभएको छ । “यही रासमा कवाडी खोज्दाखोज्दै हात काट्यो, भगवान्ले दुःख देखेछन् की कुन्नि आफैं निको भयो । उपचार गर्ने पैसा कहाँबाट ल्याउनु ?” कवाडीका सामान खोज्दै गर्दा कहिलेकाही हातखुट्टामा चोट लाग्ने गरेको मंगलीमायाले बताउनुभयो ।
“म त फोहोरमा चुर्लुम्मै डुबेछु” उहाँले भन्नुभयो, “कवाडी बटुल्न थालेको २ वर्ष भयो, माईत नगएको पनि त्यति नै भयो, फोहोरमा डुबिस् भनेर आफन्तले पनि हेला गर्छन्, मलाई पनि त्यस्तै लाग्छ, कतै जानै मन लाग्दैन, मन भएरै पनि अब त यो फोहोरको थुप्रोबाट निस्कन सक्दिन ।”
२ वर्ष पहिलेसम्म दैनिक ज्याला मजदुरीमा काम गर्ने विकले कवाडी सामानबाट अल्लि बढि पैसा कमाउन सकिन्छ भन्ने सुनेकै भरमा बाटैभरि फालिएका फोहोर बटुल्न लाग्नुभयो । उहाँले सानो खर्च टार्न रोजेको कवाडी संकलनको कामले त्यस्ता प्लाष्टिकका सामान जलाउँदा फैलने वातावरणीय प्रदुषण रोक्न र नगरमा यत्रतत्र छरिएका फोहोरबाट हुने कुरुपता हटाएर सुन्दर सफा नगरी बनाउन पक्कै ठुलो योगदान गरिरहेको छ । तर, यसरी जानी–नजानी वातावरणीय सन्तुलनमा सघाईरहेका मंगलीमाया जस्ता सरसफाईकर्मीहरुको हकहित बारे स्थानीय सरकारले थोरै पनि चासो दिएको देखिदैंन ।
फोहोरको रासबाट एक दिनमा २२÷२३ बोरा कवाडी बटुल्ने बताउने मंगलीमायाँले केही महिनादेखि सुक्को पैसो नपाएको गुनासो गर्नुभयो । “बुढा बुढी संगै मिलेर काम गर्छम्, हामीले बटुलेका कवाडीका सामान लैजाने ठेकदार खै को हो मलाइ थाहै छैन, मैले त पैसा पाएको पनि छैन् । खै बुढाले उ संग पैसा लिन्छन् कि लिदैनन् केही भन्दैनन्, मैले त सित्तैमा काम गरिराछु ।” आफुलाई सभ्य भन्न रुचाउने शहरीयाले जथाभावी फालेको फोहोरबाट पुनः प्रयोगमा ल्याउन मिल्ने बस्तुको संकलन गरी आफू फोहरी भएरै पनि प्रकृतिलाई स्वच्छ राख्न सघाउने मंगलीमायाका यस्ता कारुणिक कथाहरु सुनिदिन र संविधानप्रदत्त मौलिक हकहरु उपयोग गर्ने अवसर जुटाईदिन अधिकारकर्मीहरुको पनि ध्यान जान जरुरी छ ।
फ्याँक्ने बोत्तलले पर्यटक लोभ्याउदै हर्षपुर होमस्टेकी कमला
म्याग्दे गाउँपालिका–७ हर्षपुरकी कमला मगरले फ्याँक्ने प्लाष्टिकका बोत्तललाई गमला बनाउन प्रयोग गर्नुहुन्छ । होमस्टे सञ्चालन गर्ने उहाँले त्यस्ता बोत्तलहरुमा फुल रोपेर दलीनमा झुण्ड्याउँदा पर्यटकले खुब मन पराउँछन् । “गाउँमा निस्कने धेरैजसो फोहोर कुहिने खालका हुन्छन् । कुहिने फोहरलाई मलखादमा हालेर कुहाएर मल बनाउँछौँ”, उहाँले भन्नुभयो, “कोक फेन्टाका बोत्तललाई भने काटेर फूल लगाउने गरेको छु । सिसाका बोत्तललाई पनि सजाएर फूलदानी गराउँछु ।”
सबै फोहोर पुनः प्रयोगमा नआउने र आउने भएपनि त्यस सम्बन्धी ज्ञान नभएकाले सामुहिक रुपमा जलाउने गरिएको कमलाले सुनाउनुभयो । “५÷७ घर मिलेर जलाउने खाल्डो बनाएका छौं । होमस्टेबाट निस्कने फोहोर त्यहीँ जलाइन्छ”, उहाँले भन्नुभयो, “पेय पदार्थका खाली सिसीहरु जम्मा गरेर राख्छाँै । गाउँमा कहिलेकाहीँ कवाडीवाला आउँछन् र लैजान्छन् । फुटेका सिसा चाहिँ भ्वाङमा लागेर फाल्छौँ । के गर्नु गाउँमा फोहोर लैजाने गाडी आउँदैन ।” गाउँगाउँमा फोहोर व्यवस्थापन र पुनः प्रयोग गर्न मिल्ने तालिम ल्याउनुपर्ने कमलाको भनाई छ ।
फोहोरलाई पनि प्रेमपुर्ण व्यवस्थापन गर्ने कल्पना
बाह्रै महिना हरिया तरकारी र रङ्गीचङ्गी फूलहरुले घरका बरण्डा र छत सजाउने दमौली बजारकी कल्पना गौलीलाई नगरपालिकाको फोहोर बोक्ने ट्रिपरमा कुहिने फोहोरका थुप्रा देख्दा चुकचुकी हुन्छ। “नगरपालिकाले कुहिने फोहोर उठाउने दिन मेरो घरबाट केही पनि फोहोर निस्कदैन, अरुले फालेका फोहोरहरु देख्दा मायाँ लाग्छ”, उहाँले भन्नुभयो, “मैले कुचो लगाउँदा निस्कने धुलो पनि खेर जान दिन्न ।
जति चिज सड्छन् ती सबै जैविक मल बन्छ । तरकारी केलाउँदा, अन्न निफन्दा निस्केका फोहोर, तरकारी तथा फूलका झरेका पात, सुकेका लहरा सबै मल बनाउन प्रयोग गर्छु,।” कम्पोष्ट मलका लागि फोहोर गलाउन हावा जाने प्वाल र मल निकाल्ने ढकनी सहितको ड्रम बनाएको उहाँले बताउनुभयो । घरमै तयार पारिएको जैविक मलको प्रयोगले अर्गानिक तरकारी उत्पादन गर्न सकिने भएकाले खानपान पनि स्वस्थकर हुने उहाँको भनाई छ । “कहिलेकाहीँ त छिमेकी दिदीबहिनीहरुले फाल्न ठिक्क पारेका तरकारीका झ्याल पनि मागेर मल बनाउँछु । कुहिन समय लाग्ने डाँठ, झिक्राहरुलाई मसिनो गरी सुकाएर छतमै जलाउँछु, जैविक चिज जलाउँदा आउने धुँवाले विरुवामा लाग्ने हानिकारक किराहरु भगाउन मद्दत गर्छ ।”
कल्पनाले कुहिने फोहोर मात्रै होईन नकुहिने फोहोरलाई पनि सकेसम्म घरमै व्यवस्थापन गर्ने गरेको बताउनुभयो । “जुस, कोल्डडिं«ग्स, मिनरल वाटरका बोत्तल छतमा लगाईएका तरकारीमा थोपा सिंचाई गर्न प्रयोग गर्छु, केही बोत्तलहरुमा प्याज, लसुन, धनियाँ जस्ता तरकारी लगाएको छु ।” कल्पनाले थप्नुभयो “बाकिँ रहेका फोहोरहरुबाट पनि कवाडीवाला लाई काम लाग्ने चिज छुट्याएर राखिदिन्छु, ताकि उनीहरुको रोजीरोटीमा पनि सघाउन सकुँ, यसरी छान्दा छान्दै नगरपालिकाको गाडीमा पठाउने फोहोर त निकै थोरै हुन्छ ।” सबैले घर–घरबाट नै फोहोर कम निकाल्ने हो भने व्यवस्थापन गर्न पनि सजिलो हुने कल्पनाले बताउनुभयो ।
जिल्ला महिला उद्यम समितिकी अध्यक्ष समेत रहनुभएकी कल्पनाले जिल्लाका केही महिलाहरुले फोहोर ठानिएका धेरै चिजबाट उपयोगी सामाग्री निर्माण गरिरहेको पनि बताउनुभयो । “हाम्रो ठाउँमा कपडाको झोला बनाउने व्यवसायी महिलाहरु हुनुहुन्छ, उहाँहरुको उत्पादनको राम्रो बजारीकरण हुने हो भने प्लाष्टिकका झोलाहरु विस्थापन गर्न सकिन्छ।”
यसरी फोहोरलाई सदुपयोग गरि वातावरणीय स्वच्छतामा सघाईरहेका महिलाहरुलाई उत्साहित गर्नुपर्ने देखिन्छ । राम्रा कामलाई उदाहरणका रुपमा प्रस्तुत गरिदिने, फोहोरबाटै आयआर्जन गर्न सकिने विधि सिकाईदिने, वातावरण सफा गर्नेलाई पुरस्कृत र फोहोर गर्नेलाई दण्डित गर्ने व्यवस्था कडाईका साथ लागु गर्ने मात्रै हो भने पनि स्थानीय तहमा विकराल बन्दै गैरहेको फोहोर व्यपस्थापनको समस्या समाधान गर्न सकिने देखिन्छ ।