तनहुँ : तनहुँको व्यास नगरपालिकाले बिहीबार आयोजना गरेको आवधिक योजना सम्बन्धी छलफल कार्यक्रममा सहभागी नगराइएकामा आदिवासी जनजाति महासङ्घ तनहुँले आपत्ति जनाएको छ । ६५ प्रतिशत भन्दा बढी आदिवासी जनजातिको बसोबास रहेको जिल्लामा जनजातिलाई नै उपेक्षा गरी आवधिक योजना निर्माण गर्न लागिएकामा महासङ्घले आपत्ति जनाएको हो ।
महासङ्घकी अध्यक्ष बसुन्धरा घर्तीले जनजातिको सुझाव नलिइकन निर्माण गरिने विकास योजनाको कुनै औचित्य नरहेको बताउनुभयो । “अरु सबै क्षेत्रलाई बोलाउने तर जनजाति महासङ्घको सुझाव चॉही नलिने ?” उहॉले भन्नुभयो, “सिङ्गो जनजातिको आवाज नसमेटिएको योजना कस्तो हुन्छ ?।”
व्यास नगरपालिकाले आदिवासी जनजातिहरुको अपमान गरेको घर्तीको भनाई छ ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले प्रारम्भिक छलफल भएकाले नगरपालिकाका प्रतिनिधि र सांसदको सहभागितामा मात्रै कार्यक्रम गरिएको बताउनुभयो । “विस्तृत छलफल हुनै बॉकी छ, त्यो बेला सबैलाई राखेर सुझाव सङ्कलन गर्छौ,” उहॉले भन्नुभयो ।