आप्रवासी स्रोत केन्द्रबाट १५२६ लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आप्रवासी स्रोत केन्द्रबाट १५२६ लाभान्वित

    खबरपुञ्ज संवाददाता

    २ पुष २०७७, शुक्रबार

    तनहुँ : तनहुँ जिल्लाका चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन (सामी) परियोजना मार्फत् एक हजार पाँच सय २६ जना लाभान्वित भएका छन् । गत मङ्सिर १ गतेबाट शुरु भएको परियोजनामार्फत् तनहुँका चार स्थानीय र अन्य स्थानीय तहका गरी एक हजार पाँच सय २६ लाई सेवा दिएको हो ।

    स्रोत केन्द्रबाट व्यास नगरपालिकाका तीन सय ८५, भानु नगरपालिकाका एक सय ९४, शुक्लागण्डकी नगरपालिकाका दुई सय ५३ र म्याग्दे गाउँपालिकाका एक सय ६८ लाभान्वित भएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना जिल्ला संयोजक लुना रानाले जानकारी दिनुभयो । त्यस्तै अन्य स्थानीय तहका पाँच सय २६ जना लाभान्वित भएका छन् ।

    यस अवधिमा स्रोत केन्द्रले ४३ जनालाई सीप तालिमका लागि सिफारिस गरेको छ । व्यासका ६, भानुका तीन, शुक्लागण्डकीका आठ, म्याग्देका १६ र अन्य स्थानीय तहका १० जनालाई सीपमूलक तालिममा सिफारिस गरेको रानाले बताउनुभयो । त्यस्तै व्यासका तीन सय ८८, भानुका दुई सय २१, शुक्लागण्डकीका चार सय र म्याग्देका चार सय १० गरी एक हजार चार सय ९ लाई रिटर्नी परिचालन गरिएको छ ।

    ११२ मुद्दा दर्ता, ७ मुद्दा फछ्र्यौट

    स्रोत केन्द्रमा एक सय १२ ठगीका मुद्दाका दर्ता भएकामा सात वटा मुद्दा फछ््र्यौट भएको छ । व्यासका दुई र म्याग्देका पाँच ठगीका मुद्दामा पीडितलाई न्याय दिइएको केन्द्रले जनाएको छ । जसबाट रु सात लाख ७० हजार पीडितले प्राप्त गरेका छन् । व्यासका दुई जनाको रु तीन लाख र म्याग्देका पाँच जनाको रु चार लाख ४० हजार रकम फिर्ता भएको संयोजक रानाले बताउनुभयो ।

    केन्द्रमा व्यासका २८, भानुका १२, शुक्लागण्डकीका २२, म्याग्देका ३४ र अन्य स्थानीय तहका १६ मुद्दा दर्ता भएका थिए । त्यसमध्ये भानु, शुक्लागण्डकी र अन्य स्थानीय तहका मुद्दा प्रकृयामा छ ।

    केन्द्रमार्फत् लकडाउनको अवधिमा ५३ जनालाई विभिन्न देशबाट उद्धार गरिएको छ । व्यासका सात, भानुका ११, शुक्लागण्डकीका ११, म्याग्देका ११ र अन्य स्थानीय तहका १३ जनाको उद्धार गरिएको छ ।

    रु ७१ लाख क्षतिपूर्ति

    केन्द्रको पहलमा पीडितले रु ७१ लाख ४५ हजार आठ सय २८ आर्थिक सहायता क्षतिपूर्ति प्राप्त गरेका छन् । व्यासमा रु ४३ लाख १४ हजार तीन सय पाँच, शुक्लागण्डकीमा रु चार लाख ३२ हजार चार सय ४२, म्याग्देमा रु दुई लाख ९९ हजार ८१ र अन्य स्थानीय तहमा रु २१ लाख क्षतिपूर्ति प्रदान गरिएको छ ।

    ५ सय ४४ लाई मनोसामाजिक परामर्श

    केन्द्रले यस अवधिमा पाँच सय ४४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको छ । व्यास नगरपालिकाका एक सय ९०, भानुका एक सय ३३, शुक्लागण्डकीका एक सय एक, म्याग्देका एक सय २० जनालाई मनोसामाजिक परामर्श दिइएको केन्द्रले जनाएको छ । केन्द्रमार्फत् सामूहिक, क्वारेन्टिन, आइसोलेशन र टेलिफोन मार्फत् परामर्श सेवा प्रदान गरिएको छ । त्यस्तै केन्द्रले दुई सय ५१ जनालाई वित्तीय साक्षरता प्रदान गरेको छ । व्यासका ३१, भानुका ७२, शुक्लागण्डकीका ८१ र म्याग्देका ६७ जनालाई वित्तीय साक्षरता प्रदान गरिएको छ ।

    स्रोत केन्द्र कार्यालय उद्घाटन

    सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न जिल्ला प्रशासन कार्यालय तनहुँमा स्थापना गरिएको स्रोत केन्द्रको शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुभयो । सो अवसरमा वाग्लेले वैदेशिक रोजगारमा जाने युवायुवतीलाई सचेतना जगाउन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    परियोजना सञ्चालनपछि वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषहरु आफ्नो वैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा जानकार भएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

    स्रोत केन्द्रका कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना अभिवृद्धि गर्ने जस्ता काम गरेका छन् ।

    नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास (स्वीस इन्टर कोअपरेशनसको प्राविधिक सहयोगमा स्थानीय तहबाट कार्यान्वयन हुने तेश्रो चरणको सुरक्षित आप्रवासन ‘सामी’ परियोजना सञ्चालनको लागि जिल्लामा ग्रामीण सशक्तीकरण समाजले उक्त परियोजना सञ्चालन गर्दै आएको छ ।

    वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन तेस्रो परियोजना (सामी) परियोजना अन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानुनी सेवा र फर्किएका युवाका लागि सामाजिक पुनस्र्थापना लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।