दुलेगौडा : संसद विघटनको विरोधमा तनहुँमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लगाईएको छ । आइतबार अपरान्ह नेकपाका युवाहरुले दुलेगौँडाको विपीचोकमा पृथ्वीराजमार्ग अवरुद्ध पार्दै विरोध प्रर्दशन गरेका हुन् ।
विरोधमा सहभागीले ओली विरुद्ध चर्को नारा लगाए । उनीहरुले केपी ओली मुर्दावाद, प्रतिगामी कदम मान्दैनौँ, संघीय गणतन्त्र जिन्दावाद भन्दै चर्का नारा लगाएका थिए ।
विरोध सभामा नेकपा जिल्ला सचिवालय सदस्य खुमबहादुर विक (राजु) ले एकपक्षीय ढंगबाट ओलीले संसद विघटन गरेको आरोप लगाउनुभयो । उहॉले भन्नुभयो, ‘यो असंवैधानिक कदम हो । तुरुन्त फिर्ता लिनुपर्दछ ।’ उहॉले दुई तिहाईको शक्तिशाली सरकारले जनअपेक्षा अनुसारको काम गर्नुको सट्टा ओली सर्वसत्तावाद हावी भएको टिप्पणी गर्नुभयो । ओलीको कदमले पार्टीपंक्ति मर्माहत भएको उहॉको भनाई थियो ।
जिल्ला कमिटी सदस्य दुर्गाकुमार श्रेष्ठले संसद विघटनको विरुद्घ डटेर मुकाविला गर्ने उल्लेख गर्नुभयो । अनेरास्ववियु जिल्ला सदस्य मनोज बानियाँले जनताको अमुल्य मतको कदर नभएको बताउनुभयो ।