तनहुँ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदको प्रतिनिधि सभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति घाेषणा गर्नुभयाे । यो कदमको सर्वत्र विरोध भईरहेको छ ।
नेकपाबाट निर्वाचित जनप्रतिनिधिसँगै नेता कार्यकर्ता ओलीको कदमको विरोधमा लागेका छन् । सामाजिक सञ्जालदेखि चोक, चौतारी, चिया पसलमा गफिनेहरुले संसद विघटनको विषयमा बहस गरेका छन् । तनहुँका स्थानीय तहमा नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिले यो घटनाले आम नागरिकलाई निराश बनाएको प्रतिक्रिया दिएका छन् ।
पाँच वर्षसम्म स्थिर सरकार बन्ने र विकास निर्माणले गति पाउने आशमा दिएको जनमतको कदर नभएको उनीहरुको भनाई छ । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले केही नेताको व्यक्तिगत स्वार्थका कारण जनताले चाहेको स्थिर सरकार र दिगो विकासको सपना पूरा हुन नपाएको दुखेसो गर्नुभयाे । उहाँले भन्नुभयाे, “जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानलाई चरितार्थ गर्ने काम भएको छ ।” स्थानीय, प्रदेश र संघ सरकार एउटै माला भएकाले अब आफूहरुलाई काम गर्न अप्ठ्यारो पर्ने उहाँ बताउनुहुन्छ । हाल भईरहेको विकासको गतिमा बाधा आउने उहाँको बुझाई छ ।
भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले इतिहासमा जनताले विकास गर्नलाई दुई तिहाई मत दिएर पाँच वर्षसम्मलाई पठाएकोमा बीचमै संसद विघटन हुनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयाे । “स्थानीय सरकार सञ्चानार्थ पर्याप्त अधिकार दिइएको छैन, ऐन कानुन संशोधन गर्दै अधिकार प्रदान गर्नुपर्ने बेला यसो नहुनुपर्ने हो,” उहाँले भन्नुभयाे । थापाले अब वैशाखमा हुने निर्वाचनले स्थानीय तहको चौतर्फी विकासमा बाधा पुर्याउने उल्लेख गर्नुभयाे ।
शुक्लागण्डकी नगरपालिका–१२ का वडा अध्यक्ष मनराज गुरुङले संसद विघटनले समृद्धिकाे यात्रामा बाधा पुर्याएकाे प्रतिक्रिया दिनुभयाे ।