तनहुँ : तनहुँको व्यास नगरपालिका–४ निवासी राजकुमार श्रेष्ठ वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुभयो । तीन वर्षको बसाइपछि उहाँ घर फर्किनुभयो । घर फर्किएपछि के गर्ने ? उहाँमा कुनै विकल्प थिएन । त्यसलगत्तै उहाँ वैदेशिक रोजगारीका लागि कतार पुग्नुभयो । कतारमा जम्मा पन्ध्र महिना बसेर पुनः स्वदेश फिर्ता हुनुभयो ।
विदेशमा चार वर्ष पाँच महिना बस्दा उहाँले केही पैसा त कमाउनुभयो, तर आत्मसन्तुष्टि कमाउन सक्नुभएन । घरमै बस्दै गर्दा उहाँलाई प्लम्बिङ काम गर्ने सोच आयो । हातमा सीप भएकाले उहाँले प्लम्बिङको काम शुरु गर्नुभयो सँगै तरकारीखेती पनि ।
प्लम्बिङ र तरकारीखेतीबाट भएको आम्दानीले उहाँको घरखर्च चल्दै गयो । बिस्तारै उहाँले च्याउखेतीमा भविष्य देख्नुभयो र च्याउखेती शुरु गर्नुभयो । सात वर्ष अगाडीदेखि च्याउखेती गर्नुभएका श्रेष्ठले यसैलाई निरन्तरता दिइरहनुभएको छ । व्यावसायिक रुपमा च्याउखेती गरिरहनुभएका श्रेष्ठ अहिले सन्तुष्ट हुनुहुन्छ । “विदेश गएर आत्मसन्तुष्टि मिलेन, बरु अहिले घरमै बसेर गरेको च्याउखेतीले सन्तुष्टि दिलाएको छ,” श्रेष्ठले भन्नुभयो, “मनग्य आम्दानी छ, घरखर्च राम्रोसँग चलेको छ ।”
उहाँले दश आना आफ्नै र दश आना भाडामा लिएर च्याउखेती गरिरहनुभएको छ । च्याउखेतीबाट वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको श्रेष्ठले बताउनुभयो । उहाँले च्याउखेतीका लागि आठ वटा टनेल बनाउनुभएको छ । हालसम्म रु १६ लाख भन्दा बढी लगानी भएको उहाँले बताउनुभयो ।
च्याउखेती विस्तार गर्ने सोच बनाएपनि जग्गा नपाएको श्रेष्ठले बताउनुभयो । “अझै थप व्यावसायिक रुपमा खेती गर्ने सोच हुँदाहुँदै पनि जग्गा पाएको छैन, जग्गा खोज्दैछु,” श्रेष्ठले भन्नुभयो । श्रेष्ठले हालै मात्र चार वटा टनेल बनाएर उक्त टनेलमा चार सय केजी च्याउको बीउ रोप्नुभएको छ ।
२४ दिनमा टुसा पलाउन शुरु हुने र ३० देखि ३५ दिनमा च्याउ विक्रीका लागि तयार हुने गर्दछ । “एक चरणमा चार हजार किलो च्याउ विक्री भइसक्यो, अहिले थप चार सय केजी च्याउको बीउ लगाएको छु,” उहाँले भन्नुभयो । एउटा पोकामा राखिएको च्याउको बीउबाट छ पटकसम्म उत्पादन लिन सकिन्छ ।
बजार अभाव छैन
उत्पादित च्याउ विक्रीका लागि कुनै समस्या नरहेको श्रेष्ठले बताउनुभयो । उत्पादित च्याउ दमौली बजारमै छोपाछोप हुने गरेको श्रेष्ठले सुनाउनुभयो । उहाँले दमौली बजारमै तरकारीपसल समेत सञ्चालन गर्दै आउनुभएको छ ।
“कतिपय त च्याउ लिन घरमै आइपुग्छन्, पसलमा लगेर पनि बेच्ने गरेको छु,” उहाँले भन्नुभयो, “बजारको कुनै समस्या छैन, च्याउखेतीबाट सन्तुष्ट छु । चार जनाको परिवार राम्रोसँग चलेको छ ।” श्रेष्ठका अनुसार होलसेलमा प्रति केजी रु एक सय ६० र खुद्रा रु दुई सयसम्म च्याउ विक्री हुने गरेको छ ।
च्याउ उत्पादन भएको बेला प्याकिङ गर्नका लागि श्रेष्ठले १०÷१५ जनालाई रोजगारी दिनुभएको छ । “अरु बेला घरपरिवारले नै काम गर्छौ, उत्पादन भएको बेला घर वरपरकै मानिसलाई काममा लगाउने गरेको छु,” श्रेष्ठले भन्नुभयो ।
व्यास नगरपालिकाले श्रेष्ठलाई रु आठ लाख अनुदान दिएको छ । व्यावसायिक रुपमा खेती गरिरहेका कृषक छनौट गरी अनुदान दिइएको व्यास नगरपालिकाका प्रवक्ता एवं आर्थिक समितिका संयोजक मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “उहाँले गरेको कामको मूल्याङ्कन र अनुगमनपछि मात्रै रकम भुक्तानी गर्छौ,” उहाँले भन्नुभयो, “उहाँको च्याउखेतीको नगरपालिकाको तर्फबाट अनुगमन भएको छ, कृषकलाई प्रोत्साहित गर्ने नगरपालिकाको नीति छ ।”