तनहुँबाट शुरु भयाे ट्राफिक व्यवस्थापन तथा सुधार अभियान (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँबाट शुरु भयाे ट्राफिक व्यवस्थापन तथा सुधार अभियान (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७७, आईतवार

    तनहुँ : गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीले प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन तथा सुधार अभियान शुभारम्भ गरेको छ । दुई पाङ्ग्रे सवारीसाधनलाई लक्षित गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयले तनहुँबाट उक्त अभियान शुभारम्भ गरेको हो ।

    उक्त अभियान अन्तर्गत मुख्य शहरी क्षेत्रमा दुई पाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर प्रशिक्षण दिइने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा भएका सवारी दुर्घटना बढी मात्रामा दुई पाङ्ग्रे सवारीसाधनका कारण भएकाले ती सवारीचालकलाई प्रशिक्षण कार्यक्रम आवश्यक भएको उहाँले बताउनुभयो ।

    ढकालका अनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा एक सय ८६ सवारी दुर्घटना भएकामा एक सय १४ दुर्घटना दुई पाङ्ग्रे सवारीबाट भएका छन् । यस अवधिमा सवारी चालकको लापरवाहीले एक सय ३७ दुर्घटना भएका छन् । “नेपालमा हुने दुर्घटनामध्ये दुई पाङ्ग्रेको सङ्ख्या अत्याधिक छ, दुई पाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न प्रदेशभर प्रशिक्षण अभियान सञ्चालन गर्छौ,” उहाँले भन्नुभयो ।

    ट्राफिक व्यवस्थापन तथा सुधार अभियान अन्तर्गत विशेषतः तीन वटा मुख्य कार्यक्रम सञ्चालन गरिनेछ । दुई पाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारीसाधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइनेछ । साथै सरोकारवाला निकायबीच ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गरिनेछ ।

    सप्ताहव्यापी रुपमा हुने अभियानमा तनहुँ जिल्लाका शहरी ठाउँमा सडकमै पाँच मिनेट मोटरसाइकल र स्कूटर चालकलाई प्रशिक्षण दिइनेछ । “एकपटकमा १५ देखि २० वटा दुई पाङ्ग्रे सवारी रोकेर प्रशिक्षण दिन्छौ,” उहाँले भन्नुभयो, “सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा, सडक दुर्घटना न्यूनीकरणका उपाय बारे सिकाउँछौ ।” उक्त अभियान दैनिक रुपमा डेढ घण्टा सञ्चालन गरिनेछ ।

    अभियानको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले ट्राफिक व्यवस्थापन तथा सुधारका लागि प्रदेश सरकारको सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । आवश्यकताका कारण सवारी साधनको सङ्ख्या बढ्दै गएको र सडक संरचनाका कारण दुर्घटना हुने गरेकाले सडक संरचना सुधारको आवश्यकता रहेको मन्त्री चुमानले बताउनुभयो । ट्राफिकलाई उपकरणयुक्त र प्रविधियुक्त बनाउने अभियानमा गण्डकी प्रदेश सरकार लागिपरेको मन्त्री चुमानले बताउनुभयो ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ट्राफिक व्यवस्थापन तथा सुधारका लागि नगरपालिका सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले ट्राफिक व्यवस्थापन तथा सुधारले शानित सुरक्षा कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।