जीवजन्तुलाई लक्षित गरी सामुदायिक वनमा पोखरी निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जीवजन्तुलाई लक्षित गरी सामुदायिक वनमा पोखरी निर्माण

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०७७, आईतवार

    तनहुँ : वनजङ्गलमा हुने जीवजन्तुलाई पानी खुवाउने उद्देश्य सहित तनहुँको बन्दीपुर गाउँपालिका–५ ले सामुदायिक वनमा पोखरी निर्माण शुरु गरेको छ । जङ्गलमा पानीको स्रोत मासिदै गएपछि पानी खोज्दै जङ्गली जनावर बस्तीमा आउन सक्ने भएकाले वडा कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण शुरु गरेको हो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् बेरोजगार सूचीमा सूचीकृत भएकालाई पोखरी खन्ने काममा रोजगारी दिइएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार वडाभित्रका पाँच वटा सामुदायिक वनमा पोखरी निर्माण गरिनेछ । खानीगाउँ सामुदायिक वनमा पोखरी निर्माण सम्पन्न भएको छ भने चार वटा सामुदायिक वनमा पोखरी निर्माण गरिनेछ ।

    “जङ्गलमा पानीको स्रोत नहुँदा विशेषगरी चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्ने गरेको छ, जङ्गली जनावरले वनभित्रै पानीको स्रोत फेला परे बस्तीमा नआउने भएकाले पोखरी निर्माण शुरुवात गरेका हौ,” लामिछानेले भन्नुभयो ।

    लामिछानेका अनुसार रातमाटा थाकलडाँडा सामुदायिक वन, याम्पा सामुदायिक वन,
    बाहुनभञ्ज्याङ सामुदायिक वन, झारगाउँ सामुदायिक वनमा पनि पोखरी निर्माण गरिनेछ । “पोखरी खन्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् बेरोजगार सूचीमा सूचीकृत भएकालाई उपयोग गरेका छौ,” उहाँले भन्नुभयो, “उक्त कार्यक्रममार्फत् दश जनाले रोजगारी पाएका छन् ।” एउटा पोखरी खन्नका लागि १९ दिन लागेको जानकारी दिँदै लामिछानेले बाँकी चार वटा पोखरी खन्नका लागि पनि दश जना कामदारलाई नै लगाइने बताउनुभयो । निर्माण भएका पोखरीमा आकाशे पानी सङ्कलन गरिनेछ ।

    डिभिजन वन कार्यालय तनहुँले पनि सामुदायिक वनमा पोखरी बनाउन अनुदान दिने व्यवस्था मिलाएको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण अभियान अन्तर्गत जङ्गलमा पोखरी निर्माणका लागि अनुदानको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयले भानु, देवघाट, बन्दीपुर लगायतका सामुदायिक वनमा पोखरी निर्माण गर्न लागेको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । “वनजङ्गलमा पानीको स्रोत नभएका कारण चितुवा बस्तीमा पसेको अनुसन्धानबाट खुलेकाले चितुवाका लागि जङ्गलमै पानीको स्रोत बनाउनुपर्ने अवस्था देखिएको छ,” उहाँले भन्नुभयो, “त्यसका लागि पोखरी निर्माणलाई जोड दिएका हौ ।” कोषमा रकम भएका कतिपय सामुदायिक वनले भने आफैले खर्च गरेर पोखरी निर्माणको प्रतिबद्धता जनाएका छन् ।

    जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । “वनजङ्गलमा भएका पानीका स्रोत मासिदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ,” सहायक वन अधिकृत पाण्डेले भन्नुभयो, “त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।”

    पछिल्लो साढे दुई वर्षको अवधिमा तनहुँमा दश जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । भानु, शुक्लागण्डकी, आँबुखैरेनी, बन्दीपुर लगायतका ठाउँमा दश वर्ष भन्दा कम उमेर समूहका बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।