काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले निर्वाचन कार्यक्रम रोक्न निर्वाचन आयोगलाई गरेको आग्रह अस्वीकार गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, सांसद रामनारायण बिडारी, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, लिलामणी पोखरेल निर्वाचन आयोगमा पुगेर आग्रह गर्नुभएकाे थियाे ।
निर्वाचन आयोगमा उनीहरुले दुईवटा पत्र मार्फत निर्वाचनका कार्यक्रम रोक्न र पार्टीको कागजातको नक्कल माग गरेको निर्वाचन आयोगका सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिनुभयाे ।
आयोगले भने नेकपा नामकै विवाद भएकाले आफूसँग भएका कागजातको नक्कल उपलब्ध गराउने र बाँकी सर्वोच्चबाट लिन जवाफ दिएको छ। ‘नेकपा नामकै पनि बिवाद छ। ऋषि कट्टेलसँग नेकपा बनेपछि बिवाद भएको थियो। यसबारे हामीसँग भएका कागजातको नक्कल लानुहोला भनेका छौं। बाँकी सर्वोच्चमा भएकाले उतैबाट लिन अनुरोध गरेका छौं,’ गौतमले भन्नुभयाे ।
सर्वोच्चमा संसद विघटन सम्बन्धिको मुद्दा बिचाराधिन भएकाले निर्वाचनका कार्यक्रम रोक्न आफूहरुले माग गरेको नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिनुभयाे।
निर्वाचन आयोगले भने निर्वाचनका कार्यक्रम रोक्न सर्वोच्चको आदेश चाहिने भएकाले तत्काल नरोकिने बताएको पोखरेलले जानकारी दिनुभयाे।