तनहुँ जलविद्युत आयोजना : प्याकेज दुईमा रु एक अर्ब खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँ जलविद्युत आयोजना : प्याकेज दुईमा रु एक अर्ब खर्च

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७७, बिहीबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज दुई अन्तर्गत करिब रु एक अर्ब खर्च भएको छ । प्याकेज दुई अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ ।

    प्याकेज दुई अन्तर्गत सिनोले सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले सिनो हाइड्रोसँग रु ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक)मा खरिद सम्झौता गरेको थियो ।

    जसअनुसार हालसम्म अमेरिकी मुद्रातर्फ रु दुई करोड ३१ लाख र नेपाली मुद्रातर्फ रु ९५ करोड खर्च भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौता अनुसार विदेशी मुद्रातर्फ २०.२३ प्रतिशत र नेपाली मुद्रातर्फ २५ प्रतिशत रकम खर्च भएको छ । प्याकेज दुई अन्तर्गतको कामका लागि तनहुँ हाइड्रोले सन् २०१८ अक्टोबरमा सिनोसँग सम्झौता गरेको थियो । उक्त सम्झौताको म्याद सन् २०२४ सेप्टेम्बर २९ सम्म रहेको छ ।

    त्यस्तै प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रशारण लाइन निर्माणका लागि भारतको केइसि इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ । यस प्याकेजमा विदेशी मुद्रातर्फ रु ३५ लाख र नेपाली मुद्रातर्फ दुई करोड ७५ लाख खर्च भएको आयोजनाले जनाएको छ ।

    प्याकेज तीन अन्तर्गतको कामका लागि केइसिसँग सन् २०१८ डिसेम्बर २५ मा सम्झौता भएको थियो भने सम्झौताको म्याद सन् २०२१ मार्च २० सम्म रहेको छ । यसका लागि हाइड्रोले रु ६ करोड अमेरिकी डलर र रु २१ करोड (मूल्य अभिवृद्धि कर बाहेक) सम्झौता गरेको थियो । जसबमोजिम विदेशी मुद्रातर्फ ५२ प्रतिशत र नेपालीतर्फ १२.६१ प्रतिशत रकम खर्च भएको छ ।

    प्याकेज एक अन्तर्गतको एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माणका लागि नियुक्त ठेकेदारसँगको ठेक्का रद्द गरी पुनः दुई पटक बोलपत्र आह्वान गर्नुपरेकाले ढिलाई भएको र हाल ठेकेदार नियुक्तिको क्रममा रहेको आयोजना प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

    आयोजनाले प्रशारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रकृयालाई समेत अगाडी बढाइसकेको छ । आयोजना प्रमुख घिमिरेले ६० वटा कित्ताका जग्गा अधिग्रहणको प्रकृया अगाडी बढेको जानकारी दिनुभयो । “टावर राख्नका लागि ५३ जना व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ, जग्गा प्राप्तिका लागि सूचना प्रकाशित भइसकेको छ,” घिमिरेले भन्नुभयो ।

    घिमिरेका अनुसार जग्गाको रकम निर्धारणका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले अध्ययन शुरु गरेको छ । “स्थानीय तह, मालपोत कार्यालय, सम्बन्धित क्षेत्रमा रहेका बैङ्कसँग जग्गाको चलनचल्तीको दररेट बुझ्ने काम भइरहेको छ,” घिमिरेले भन्नुभयो, “उपसमितिले अध्ययन सकेपछि प्रतिवेदन मूल समिति समक्ष पेश गर्नेछ ।” प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले प्रतिवेदन अध्ययन गरेर जग्गाको मुआब्जा निर्धारण गर्नेछ ।

    आयोजनाको प्रशारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइने घिमिरेले बताउनुभयो । घिमिरेले भन्नुभयो, “क्षतिपूर्ति तिर्ने जग्गा सम्बन्धित व्यक्तिको हुन्छ, उक्त जग्गामा संरचना निर्माण गर्न भने पाइनेछैन ।”

    प्रशारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुखहरु कटान हुनेछन् । तनहँुतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रशारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ ।

    आयोजनाको प्याकेज दुई अन्तर्गतको विद्युत गृहको काम पनि भइरहेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको ‘केवल टनेल’को काम पूरा भएसँगै विद्युत गृहको काम भइरहेको छ ।

    आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।

    आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।