तनहुँ : विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणको जोखिम पुनः वृद्धि भएपछि देवघाट क्षेत्र विकास समितिले मलामी सङ्ख्या कम गर्न आग्रह गरेको छ । समितिले मङ्गलबार सूचना निकालेर कोरोना सङ्क्रमण वृद्धि भएसँगै जनस्तरमा चासो र चिन्ता व्यक्त भएको भन्दै मलामी आउँदा सचेतना अपनाउन आग्रह गरेको हो ।
कोरोना सङ्क्रमणबाट बच्न र बचाउनका लागि न्यून सङ्ख्यामा २० देखि २५ जनासम्म मलामी आउन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो । “रोग लागिसकेपछिको चिन्ता र सतर्कताभन्दा त्यसपूर्व नागरिकहरुको सचेत व्यवहारलाई उत्तम मानिन्छ,” उहँले भन्नुभयो, “सनातन संस्कृतिका अनुयायीहरुको पावनभूमि देवघाटधाम पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा छ ।”
अनियन्त्रित सङ्ख्यामा मलामीहरुको उपस्थिति र अनावश्यक घुमफिर, कोरोना महामारीमा कमी आएसँगै लयमा फर्कदै गरेका होटल व्यवसाय र त्यहाँ रहने उपभोक्ता, अनावश्यक रुपमा हिँडडुल गर्ने समूह र देश बाहिरबाट आउने नागरिकहरुबाट पनि देवघाटधाम कोरोनाको जोखिममा रहेको छ ।
न्यून सङ्ख्यामा मलामी आउन र मलामीहरु अनावश्यक घुमफिर नगरी नुहाईधुवाई र चोखो शुद्ध भएर घर फर्कन समितिले आग्रह गरेको छ ।