तनहुँ : तनहुँको देवघाट गाउँपालिका- ३ डगरामा रहेको एकीकृत नागरिक सेवा केन्द्र पुनः सञ्चालनमा आएको छ। गत वर्षदेखि सञ्चालनमा आएको उक्त सेवा कोभिडको जोखिम बढेपछि बन्द भएको थियो।
बन्द भएको वर्षदिन पछि उक्त केन्द्र पुनः सञ्चालनमा आएको हो।
देवघाट गाउँपालिकाबाट प्रदान गरिने सेवाहरु महिनाको एक दिन उक्त सेवा केन्द्रबाट प्रदान गर्ने योजना अन्तर्गत सबै वडाहरुमा एकीकृत सेवा केन्द्र सञ्चालन गरिएको छ । सेवा पुनः सुरु भएको अवसरमा मंगलबार गाउँपालिका तथा वडा कार्यालयले प्रदान गर्ने सेवाहरु उक्त केन्द्रबाट प्रदान गरिएको थियो।
विकट बस्ती भएको देवघाटमा नागरिकहरु सेवा लिन वडा कार्यालय र गाउँपालिकाको कार्यालयसम्म आउन नसक्ने भएपछि महिनाको एक पटक गाउँमा नै गएर सेवा प्रदान गर्ने उद्देश्यका साथ हरेक वडामा सेवा केन्द्र सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो ।
गत वर्ष कोरोना भाइरसको कारण शुरु हुन नसकेको एकीकृत नागरिक सेवा पुनः सबै वडामा संचालन गरिने र यसबाट नागरिकहरुले लाभ लिन सक्नुपर्ने थापाले बताउनुभयो ।
उक्त सेवा केन्द्र मार्फत मंगलबार सामााजिक सुरक्षा कार्यक्रम अन्तर्गत घटना दर्ता, कृषि तथा पशुको प्राविधिक सेवा, स्वास्थ्य परामर्श सेवा लगायतका कामहरु गरिएको थियो ।