दुलेगाैडा : एसएलसी सकाएपछि ६ वर्ष शिक्षक बन्नुभयो । त्यो अवधिमा उहाँले कहिले सरकारी त कहिले नीजि स्कुलमा पढाउनुभयो । सामान्य परिवारका उहाँलाई स्कूलले दिएको तलबले पुगेन । केटाकेटी पढाएर परिवारको गुर्जो टर्ने छाँट देखिएन, स्वदेशमा अरु विकल्प देख्नुभएन । नचाएर उहाँले जन्मभूमि छोड्नुपर्ने भयो । त्यसपछि उहाँले विदेश जाने सुरु कसेर पासपोर्ट बनाउनुभयो अनि भिसा लगाएर दुबई उड्नुभयाे ।
६ वर्ष अगाडी काठमाडौं छुट्दा उहाँ अर्थात बसन्तबहादुर सुनारले धेरै सपना सजाउनुभएको थियो । परिवारलाई सुखसयलमा राख्ने, दुई छाक हात मुख जोड्नलाई मुस्किल नहोस् । छोराछोरीलाई राम्रो स्कूलमा पढाउन सकियोस् ।
६ वर्षसम्म त दुबईको कमाई राम्रै थियो । जिन्दगी ठिकठाक चलिरह्यो । काठमाडौं छुट्ने बेलामा देखेको सपना पूरा गर्न तल्लिन हुनुभयो उहाँ । बेला बखत बसन्तले घर–परदेश गरिरहनुभयो । भविष्यको सुनिश्चितताका लागि विदेशी भूमिमा कर्मसंग पैसा साटिरहनुभयो । तर, दिन सधैँ कहाँ एकनास चल्दो रैछ र ? बसन्तलाई आफ्नै भाग्यले छल्यो । जीवनभरलाई साँचेको सपनामा आँधीहुरी चल्यो । २०७७ भदौ ५ गतेको दिन बसन्तको जिन्दगीमा कालो दिन बन्यो । दुबईमा उहाँ सडक दुर्घटनामा परेर घाइते हुनुभयो र उहाँको सपना उतै छुटेको छ ।
रेष्टुरेन्टमा ड्यिुटी सकाएर कोठमा फर्कदै गर्दा त्यहाँको सरकारी ट्याक्सीले ठक्कर दिएको उहाँले बताउनुभयो । ‘दुर्घटनापछि तीन महिना त्यही उपचार भयो । निको नभएपछि कम्पनीले घर पठाईदियो,’ उहाँले भन्नुभयो । अहिले उहाँको दुवै खुट्टा चल्दैन् । उठ्बस गर्न पनि कसैको सहारा लिनुपर्छ । उहाँ अहिले अपाङ्ग बन्नुभएको छ । स्थानीय सरकारले वितरण गर्ने ‘ख’ वर्ग (निलो) अपाङ्ग परिचयपत्र पाउनुभएको छ उहाँले ।
तनहुँको शुक्लागण्डकी–१० रजस्थलका उहाँ नेपालमा आएपछि पनि निको हुने आशमा विभिन्न अस्पताल चाहरिरहेको बताउनुहुन्छ । ‘सपना बोकेर विदेश गएको थिए । यस्तो हालतमा फर्कनुप¥यो,’ उहाँ भन्नुहुन्छ, ‘यतिन्जेल कमाएको पैसा सबै उपचार गर्दा गर्दै सकिएको छ । सरकारले उपचारमा सहुलियत दिलाईदिए अलिक सजिलो हुन्थ्यो होला ।’
उपचारपश्चात निको भएपनि आफू अब विदेश कहिल्यै नजाने सोच बनाएको उहाँले सुनाउनुभयो । ‘कुनै दिन निको भएर पहिलाको जस्तै तन्दुरुस्त हुने आत्माबल छ,’ उहाँ भन्नुहुन्छ, ‘तर, अब विदेशमा पाइला राख्दिन् । जे गर्छु यहीँ देशको माटोमा गर्छु ।’ देशमै रोजगारीको अवसर प्रशस्त सिर्जना भएर कोही नेपालीले परदेशिन नपरे हुन्थ्यो झै लाग्छ उहाँलाई । त्यसका लागि युवालाई सरकारले सीपमूलक तालिमदेखि सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने बसन्तबहादुर सुझाव दिनुहुन्छ । पाँच जना परिवारको मियो बसन्तको अवस्थाले परिवारमा चिन्ता थपिएको श्रीमती रजनीले बताउनुभयो । परदेशले परिवारको खुशी लुटेको उहाँले सुनाउनुभयो ।