दमाैली : दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुले बिहीबार पदभार ग्रहण गरेका छन् । बिहीबार कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष वृषराज श्रेष्ठ र सदस्यहरुले पदभार ग्रहण गर्नुभएको हो ।
सो अवसरमा निर्वाचन समितिका संयोजक एवं तनहुँ बार एशोसिएसनका निवर्तमान अध्यक्ष अमृतबहादुर नेपालीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथग्रहण गराउनुभयो । संस्थाका निवर्तमान अध्यक्ष मीरा जोशीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पदभार ग्रहण गराउनुका साथै संस्थाको म्याइन्युट हस्तान्तरण गर्नुभयो ।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले दमौलीवासीलाई सहज र सरल रुपमा गुणस्तरीय खानेपानी उपभोग गराउन आफ्नो समिति क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।
चैत १४ गते सम्पन्न अधिवेशनबाट योगिता कायस्थ, गौकुमारी न्यौपाने, बिन्दु गुरुङ, सूर्यकला काफ्ले, विशेश्वर सुवेदी, दीर्घबहादुर थापा क्षेत्री, ओमबहादुर थापा, इन्द्रध्वज गुरुङ, माधवप्रसाद अधिकारी, क्या. जगतबहादुर बानियाँ क्षेत्री र चिरौकाजी बतास सदस्यमा निर्वाचित हुनुभएको थियो । संस्थाको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष भने निर्वाचित सदस्यमध्येबाट मनोनित गर्ने प्रावधान छ ।
उक्त संस्थाले व्यास नगरपालिका–२, ३ र ४ खानेपानी वितरण गर्दै आएको छ । संस्थाका ३ हजार पाँच सय भन्दा बढी उपभोक्ता छन् ।