तनहुँ : शुक्रबार साँझ आएको हावाहुरीले तनहुँको देवघाट गाउँपालिका–२ स्थित जुनोदय आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ । हावाहुरीसहित आएको वर्षाका कारण विद्यालयको दुई कोठे भवन एवं स्टोर कोठामा क्षति पुगेको हो ।
हावाहुरीले कक्षा एकको छानो उडाएको विद्यालयका प्रधानाध्यापक बरुणकुमार थापाले जानकारी दिनुभयो । वर्षाका कारण नयाँ विद्यालय भवन निर्माणका लागि राखिएको ८० बोरा सिमेन्ट, कक्षा एकमा भएका शैक्षिक सामग्रीमा समेत क्षति पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार हावाहुरीबाट करिब रु दुई लाख बराबरको क्षति पुगेको छ ।
“कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालय बन्द भएकाले तत्कालका लागि समस्या नभएपनि पछि अप्ठ्यारो पर्ने छ,” उहाँले भन्नुभयो । विद्यालयका भवन जीर्ण अवस्थामा रहेको र नयाँ भवन निर्माणकै चरणमा रहेको छ । विद्यालयमा भएको क्षतिबारे वडाध्यक्षलाई जानकारी गराइएको छ ।