तनहुँमा बुधबार राति १२ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा बुधबार राति १२ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७८, मंगलवार

    तनहुँ : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले बुधबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको केन्द्रको बैठकले बुधबार राति १२ बजेबाट वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरुको बैठकले तीन दिनभित्र निषेधाज्ञा गर्न सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

    नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको जोखिम बढिरहेका बेला निषेधाज्ञा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । सहायक प्रजिअ बरालका अनुसार ऋषि गाउँपालिका–२, ३, ४, ५, ६, ७ र ८ तथा घिरिङ गाउँपालिकाका सम्पूर्ण वडा बाहेक अन्य क्षेत्रमा अति आवश्यक कार्य र सेवा बाहेकका कार्य र सेवा गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

    बैठकमा भारत र अन्य मुलुकबाट आउने व्यक्तिहरुको निगरानी राख्न वडास्तर र टोलस्तरमा यस अघि गठन भएका समितिलाई पुनः सक्रिय बनाउने, उनीहरुलाई निगरानीमा राख्न दश दिन अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको छ । स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख संयोजक रहेको होम क्वारेन्टिन र होम आइसोलेशन तोक्ने एवं अनुगमन गर्ने समितिलाई पुनः सक्रिय बनाई समय समयमा अनुगमन गरी व्यवस्थित र अनुशासित बनाउने एवं अनुगमनमा स्थानीय शिक्षक कर्मचारीलाई समेत परिचालन गराउने निर्णय बैठकले गरेको छ । बैठकले पिसीआर परीक्षणको दायरा बढाउन, शव व्यवस्थापनका लागि सबै व्यवस्थापकीय तयारीमा राख्न स्थानीय तहलाई अनुरोध गरेको छ ।