


तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पशुवस्तुको आवतजावत र ओसारपसारमा रोक लगाएको छ । गाउँपालिका–५ स्थित याम्पाफाँटस्थित एक फार्ममा खोरेत रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोग देखा परेकाले गाउँपालिकाले पन्ध्र दिनका लागि पशुवस्तुको आवतजावत र ओसारपसारमा रोक लगाएको हो ।
खोरेत लाग्ने पशुवस्तुहरु गाईभैसी, भेडाबाख्रा र बङ्गुर सुङ्गुरको ओसारपसार पूर्ण रुपमा बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरबहादुर रानाले जनकारी दिनुभयो ।
गाउँपालिकाले कृषकलाई आवश्यक सुरक्षा अवलम्बन गर्न अनुरोध गरेको छ । फार्म गोठमा जैविक सुरक्षाका उपाय अवलम्बन गर्न, अनावश्यक रुपमा अरुको फार्म, गोठमा नजान, गोठको काम गर्दा लगाएको लुगा कपडा र जुत्ता चप्पल अरु बेला प्रयोग नगर्न कृषकलाई आग्रह गरिएको छ ।