दमौली अस्पतालका जनरल वार्डलाई कोभिड कक्ष बनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालका जनरल वार्डलाई कोभिड कक्ष बनाइयो

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७८, बिहीबार

    तनहुँ : तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको छ । कोरोना जोखिम बढेर सङ्क्रमित बढ्न थालेपछि अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको हो ।

    उक्त ठाउँमा १६ शैय्याको व्यवस्थापन भइसकेको र त्यसलाई ३० शैय्या बनाउने तयारी थालिएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।

    जनरल वार्डलाई भने इमर्जेन्सी सञ्चालित भवनको तीन वटा कोठामा स्थानान्तरण गरिएको छ । त्यहाँ सात÷आठ शैय्या तयारी गरिएको छ । “इमर्जेन्सी कक्ष नजिक स्वास्थ्यकर्मी सुत्ने र एआरटी कक्षलाई जनरल वार्ड बनाइएको छ,” अधिकारीले भन्नुभयो ।

    कोभिड जोखिमका कारण अस्पतालले केही समयका लागि प्रसुतीको शल्यक्रिया गर्ने कार्य भने स्थगितको तयारी गरेको छ । “कोभिड सङ्क्रमण हुने जोखिम भएकाले केही समयका लागि प्रसुतीको काम मात्रै स्थगित गर्ने सोचमा छ, अन्य सबै काम भने सुचारु नै हुन्छ,” अधिकारीले भन्नुभयो ।

    अस्पतालले सुत्केरी वार्डलाई प्रशासन शाखामा र प्रशासन शाखालाई जिल्ला स्वास्थ्य कार्यालयको भवनमा स्थानान्तरण गरेको छ ।

    अस्पतालले सात आइसियु र चार वटा भेन्टिलेटर सहितको शैय्या यसअघि नै तयार गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा अस्पतालले आईसियु र भेन्टिलेटर शैय्याको व्यवस्थापन गरेको हो । आइसियु र भेन्टिलेटरको व्यवस्था भएपछि अब कोभिडका गम्भीर प्रकृतिका बिरामीलाई पनि बाहिर पठाउनुनपर्ने अधिकारीले जानकारी दिनुभयो ।

    दमौली अस्पताल परिसरमा अक्सिजन प्लाण्ट निर्माण प्रक्रिया पनि शुरु भएको छ । गण्डकी प्रदेश सरकारले अक्सिजन प्लाण्ट निर्माणका लागि चालु आर्थिक वर्षमा रु ७५ लाख बजेट उपलब्ध गराएको छ । उक्त प्लाण्ट निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भई सम्झौता भइसकेको छ ।