एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत शनिबार उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको मड्रिड प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार राति ८ बजे बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने छ । दुवै टोलीलाई उपाधि होड बलियो बनाउन यो खेल जित्न आवश्यक छ ।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले यो खेल निकै महत्वपूर्ण रहेको तर निर्णायक भने नहुने बताएका छन् । ‘यो खेल निकै महत्वपूर्ण छ, तर मलाई लाग्दैन की यही खेलको नतिजाले लिग विजेताको टुङ्गो लगाउने छ’ कोम्यानले खेलअघिको पत्रकार सम्मेलनमा भने ‘किनकि यो बाहेक अझै तीन खेल बाँकी छन् ।’
‘यसपटक लिगमा धेरै फेरबदल भइरहेका छन्, केही महिनाअघि हामीले उपाधि बारे सोच्न सक्ने अवस्था पनि थिएन’, उनले थपे ‘यदि हामीलाई लिग विजेता बन्नु छ भने प्रत्येक खेल जित्न आवश्यक छ ।’ हाल एट्लेटिको ३४ खेलबाट ७६ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहँदा बार्सिलोना समान खेलबाट ७४ अंकका साथ तेस्रो स्थानमा छ ।