तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट १८ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । प्रहरीले दमौली र शुक्लागण्डकीको बेलचौताराबाट १८ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको हो ।
कोभिड सङ्क्रमितका लागि सिलिन्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका अक्सिजन सिलिण्डर सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार आज दमौलीबाट १५ थान र हिजो बेलचौताराबाट तीन थान सिलिन्डर सङ्कलन गरिएको छ ।
दमौलीबाट पाँच वटा भरी सिलिण्डर र दश वटा खाली सिलिन्डर सङ्कलन गरिएको छ भने बेलचौताराबाट तीन वटा भरी सिलिन्डर सङ्कलन गरिएको छ । यस्तै तनहुँ जलविद्युत आयोजना अन्तर्गत सिनो हाइड्रो कम्पनीसँग पनि सिलिन्डर रहेकाले प्रशासन कार्यालयको पत्रपछि उक्त सिलिन्डर पनि सङ्कलन गरिएको पौडेलले जानकारी दिनुभयो ।
प्रहरीले केही दिनअघि पनि आँबुखैरेनी क्षेत्रबाट २६ वटा सिलिन्डर सङ्कलन गरी चितवनको अक्सिजन उत्पादन कम्पनीमा पठाएको छ ।