तनहुँ: तनहुँको व्यास नगरपालिकाले कोभिड सङ्कटको घडीमा अत्यावश्यक परिस्थितिमा नगरपािलकाका सवारी साधनहरु परिचालन गर्ने प्रष्ट पारेको छ । कतिपय जिल्लामा कोभिड बिरामीले एम्बुलेन्स लगायतका सवारी साधन नपाएको समाचार आइरहेका बेला नगरपालिकाले उक्त कुरा प्रष्ट पारेको हो ।
हाल आवश्यक सेवाका लागि उद्योग वाणिज्य सङघ दमौली बजार इकाईबाट नगरपालिकालाई हस्तान्तरण भएको एम्बुलेन्स सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले आइतबार विज्ञप्ती जारी गरी अत्यावश्यक अवस्थामा नगरपालिकाका अन्य सवारी साधन पनि परिचालन गरिने बताउनुभयो ।
नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिदका लागि यसअघि नै प्रकृया अगाडी बढाएपनि ढिलाई भएको छ । नगरपालिकाले सिप्रदीसँग रु १२ लाख ९५ हजारको सम्झौता गरी गत फागुन १३ गते रकम दाखिला गरिसकेर चैत मसान्तसम्म एम्बुलेन्स हस्तान्तरण गर्ने भनिएपनि हालसम्म एम्बुलेन्स नआएको न्यौपानेले जानकारी दिनुभयो । साथै व्यास नगरपालिका–९, १० र १४ मा थप एम्बुलेन्स खरिदको प्रकृया अगाडि बढिरहेको न्यौपानेले जानकारी दिनुभयो ।
देशमा अक्सिजनको अभाव रहेको, कोभिड–१९ का कारण जनप्रतिनिधि समेत आम नागरिकको दिनानुदिन मृत्यू भईरहेको, अधिकांश अस्पतालहरु बिरामीहरुले भरिएको, उपचार अभाबमा नागरिकहरुले अकालमै ज्यान गुमाउनु परेकाले यो जोखिमपूर्ण अवस्थामा उच्च सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरिएको छ ।
१५ जना भन्दा बढी भए तत्काल स्वाब सङ्कलन
नगरपालिकाले हप्ताको दुई दिन सोमबार र बिहीबार स्वाब सङ्कलनको व्यवस्था मिलाउँदै आएको छ । तर १५ जना भन्दा बढी भएमा तत्कालै स्वाब सङ्कलनको व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले सोमबार मात्रै स्वाब सङ्कलन गर्ने गरेपनि सङ्क्रमणको दर बढ्दै गएपछि हप्ताको दुई दिन बनाएको थियो ।
हाल व्यास नगरपालिकामा ४९ सक्रिय सङ्क्रमित छन् भने आठ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितलाई बारम्बार सम्बन्धित वडाका लागि फोकल पर्सनको रुपमा जिम्मेवारी तोकिएका स्वास्थ्य सेवाका कर्मचारीले निगरानी गर्ने व्यवस्था मिलाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । जटिल प्रकृतिका बिरामीहरुलाई निःशुल्क रुपमा अस्पतालसम्म लैजाने व्यवस्था पनि नगरपालिकाले मिलाएको छ ।