दुलेगाैडा : कोरोना सङ्क्रमितलाई आवश्यक अक्सिजन जुटाउन शुक्लागण्डकी नगरपालिका व्यवस्थापनमा लागी परेको छ । अक्सिजन अभावकै कारण कोरोना सङ्क्रमितले ज्यान गुमाउन नपरोस् भन्दै कोभिड व्यवस्थापन तथा अनुगमन समितिले नगर क्षेत्रभित्र रहेका अक्सिजनका सिलिन्डरको तथ्याङ्क संकलन थालेको हो ।
नगर क्षेत्रमा सञ्चालित वर्कसप, ग्यारेज, क्रसर उद्योग लगायतका उद्योग कारखानामा रहेका अक्सिजनको तथ्याङ्क सङ्कलनमा जुटेको समितिका संयोजक एवं नगरप्रवक्ता खिमबहादुर कुमालले बताउनुभयो । खाली सिलिन्डर सङ्कलन गरी नगरपालिकाले अक्सिजन भर्ने उहाँले जानकारी दिनुभयो । ‘कम्तीमा ५० सिलिन्डर अक्सिजनको व्यवस्थापन गर्ने लक्ष्य छ,’ कुमालले भन्नुभयो । उहाँले आफूसँग भएका अक्सिजनका सिलिन्डर नगरपालिकालाई सहयोग गर्न सबैसँग अनुरोध गर्नुभएको छ । अक्सिजनका सिलिन्डर सहज स्थिति भएपछि फिर्ता गर्ने प्रवक्ता कुमालको भनाई छ ।
शुक्लागण्डकी नगरपालिकाले ठाडोखोला खानेपानी उपभोक्ता समितिको शुक्लागण्डकी–५ झरौटा शिवपञ्चायन मन्दिरसँगै रहेको भवनमा ३० बेडको आइसोलेशन बनाउँदैछ । होम आइसोलेशनमा बस्न मिल्ने अवस्था नभएकालाई वडाको सिफारिसमा यहाँ बनेको आइसोलेशनमा राखिनेछ । आईसोलेसनका, शव व्यवस्थापन र स्वास्थ्यकर्मीका लागी आवश्यक सामग्री खरिदको प्रकृया अगाडी बढाएको कोभिड व्यवस्थापन तथा अनुगमन समितिले जनाएको छ ।