‘अस्पतालको स्तरोन्नतिमा मौजुदा कानून बाधक छ भन्ने सुन्दा कानै पट्याए’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘अस्पतालको स्तरोन्नतिमा मौजुदा कानून बाधक छ भन्ने सुन्दा कानै पट्याए’

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०७८, मंगलवार

    दमाैली : कोरोना सङ्क्रमण दिनप्रतिदिन बढिरहेका बेला तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालको स्तरोन्नतिको प्रसङ्ग चलिरहेको छ । गत वर्षको कोरोना कहरका बेला पनि यही प्रसङ्ग चर्चामा आएको थियो ।

    सर्वसाधारणले दमौली अस्पतालको स्तरोन्नतिका विषयमा चासो दिँदा अस्पताल व्यवस्थापन समिति चुप लागेर बसेको हो त ? पक्कै पनि होइन । दमौली अस्पतालको स्तरोन्नतिका लागि वर्तमान समिति पनि विगतदेखि नै लागिरहेको छ । तर उपलब्धि हासिल हुन सकेको छैन ।

    दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले पटक–पटक अस्पतालको स्तरोन्नतिका लागि पहल थालिदा पनि कुनै परिणाम प्राप्त नभएको बताउनुभयो । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्तिमा अनेकौ पटक छलफल चलाएर फाइल बोकी सम्बन्धित निकायमा धाउँदा पनि हात लाग्यो शुन्यकै स्थिति रहेको अधिकारीले बताउनुभयो ।

    “विभिन्न ठाउँका विभिन्न कित्ताका सार्वजनिक र विभिन्न सरकारी कार्यालयको अनुत्पादक जग्गा पहिचान सहित सम्बन्धित निकायमा लगियो तर परिणाम हात लाग्यो शून्य,” उहाँले भन्नुभयो, “मौजुदा नियम कानुनले छेक्ने कुरा बारम्बार सुन्दा कानै पट्याए ।” जनताको आवश्यकताका पछाडि नियम कानुन बाधक छन् भने त्यसलाई परिवर्तन गर्नुपर्ने अधिकारीको सुझाव छ ।

    “अस्पताल सञ्चालनका लागि अस्पताल परिसरमा निर्माण भएको नयाँ भवन पाउनका लागि तारन्तर नलागेको होइन । महिला तथा बालबालिका कार्यालय लागि तयार भवन पनि मागियो, तर उपलब्धी भएन,” उहाँले भन्नुभयो, “जग्गाको हकमा पछि बल्ल बल्ल जिल्ला समन्वय समितिले चार रोपनी जग्गा उपलब्ध गराइ सहयोग गरेको छ ।” सोही जग्गामा अस्पताल भवन बनाउन डिपिआर भइरहेको अधिकारीको भनाई छ ।

    विसं २०६२ सालमा आफ्नै स्रोत साधन प्रयोग गरी ५० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति पाएपनि अस्पताल समितिले सञ्चालन गर्न सहज नभएको अधिकारीको बुझाई छ । “त्यसका लागि चाहिने विशेषज्ञ तथ अन्य जनशक्तिको व्यवस्थापन, उनीहरुको सेवासुविधा, काम गर्ने भवन, त्यहाँ चाहिने उपकरणको जोहो समितिले गर्न सक्थेन,” अधिकारीले भन्नुभयो ।

    वर्तमान अवस्थामा पनि अस्पतालले केही उल्लेख्य प्रगति गरेको अधिकारीले जानकारी दिनुभयो । अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, गाइनोलोष्टिबाट सेवा सञ्चालन, भेन्टिलेटर सहित आईसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।

    कोभिड सङ्कटको बेला अस्पतालले सङ्क्रमितको उपचार गरिरहेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रुपान्तरण गरेको थियो ।