तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ पोखरा सडक विस्तारका क्रममा चट्टान आरोहण मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि माग गरेका हुन् ।
नेपाल खेलकुद महासङ्घका महासचिव मेखराज पौडेलको पहल र जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेको समन्वयमा स्थानीयवासी, खेलसँग सम्बन्धित सङ्घसंस्था र खेलाडीको भर्चुअल बैठकबाट नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष महेन्द्र रिजालको संयोजकत्वमा विमलनगर चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण समिति गठन गरिएको छ । समितिमा स्थानीयवासी लालकुमार श्रेष्ठ, प्रेम गुरुङ र सम्बन्धित वडाका प्रतिनिधि सदस्य रहनुभएको छ ।
उक्त समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै साहसिक खेलकुदका रुपमा रहेको चट्टान आरोहणलाई संरक्षण गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी मार्फत् बुझाइएको ज्ञापनपत्रमा सडक विस्तारका क्रममा चुनपहरा क्षेत्र प्रत्यक्ष प्रभावित हुने भएकाले यस क्षेत्रको जोखिम न्यूनीकरण तथा वैकल्पिक नीतिहरु अवलम्बन गर्न आवश्यक रहेको ठहर गरिएको छ ।
राजमार्ग विस्तार योजना अनुरुप सडकको मापदण्ड अनुसार मध्यविन्दुबाट दायाँ र बायाँ २५÷२५ मिटर विस्तार गर्नका लागि चिन्ह लगाउने कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको सडक विस्तार अति आवश्यक रहेको भएतापनि पृथ्वीराजमार्गसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।
संरक्षण समितिले हाल कायम गरिएको सडक मापदण्डलाई आवश्यकता अनुसार घटाउन, आरोहण क्षेत्रपट्टिको मापदण्ड घटाई खोलापट्टिको मापदण्ड बढाउन र विमलनगरको पुलबाट पारी करिब १.५ किमिको वैकल्पिक ट्रयाक खोली नयाँपुल हुँदै निस्कने सडक बनाउने विकल्प अगाडी सारेको छ ।
पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न तथा विदेशबाट समेत पर्यटकहरु चट्टान आरोहणका लागि आउने गर्दछन् । विसं २०६४ सालमा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकहरु र स्थानीयवासी मिलेर सो क्षेत्रको शुरुवाती अन्वेषण गरे पश्चात् क्रमबद्ध रुपमा यससँग सम्बन्धित सङ्घसंस्था तथा निकायहरुले यस क्षेत्रमा आरोहण गतिविधि गर्नुका साथै व्यवस्थापन गर्दै आएको स्थानीयवासी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पहिला डरलाग्दो पहराको रुपमा लिइने यसले तनहुँ तथा नेपाललाई नै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम गरेको छ । यहाँ साहसिक अभ्यास, तालिम तथा खेलकुद गतिविधि सञ्चालन हुने गरेको छ । यहाँ राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिता पनि सम्पन्न भएका छन् । पर्वतारोहण क्षेत्रमा आबद्ध सङ्घसङ्गठन, प्रतिष्ठान र क्याम्पसहरुले तहगत तालिमका सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा तथा परीक्षा यस ठाउँमा सञ्चालन गर्दै आइरहेका छन् ।