भानु नगरपालिकालाई खुला पत्र !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानु नगरपालिकालाई खुला पत्र !

    शंकर अधिकारी

    ११ जेष्ठ २०७८, बुधबार

    श्री नगर प्रमुख ज्यू, भानु नगरपालिका, तनहुँ

    विश्वव्यापी फैलिएको कोभिड-१९ को पहिलो महामारीको बखत हामी नगरवासी केही हदसम्म सुरक्षित महसुस गर्न पुग्यौँ। कारण, त्यो समयमा नागरिकमा स्वास्थ्य सम्बन्धी सचेतना थियो। त्यो सफलताको लागि तपाईं हामी सबैलाई धन्यवाद ! नगर प्रमुख ज्यू, अहिले कोरोना भाइरसको जेनेटिक स्वरूपमा  केही परिवर्तन ( नयाँ भेरियसन)भएर नयाँ महामारीको रूपमा फैलिएको समाचार तथा  सूचना यहाँलाई पनि अवगत नै छ। हामी जस्तो विकासोन्मुख देशको स्वास्थ्य अवस्थामा ठूलो चुनौती दिने गरि समस्या  देखिएको छ। देशका अधिकांश अस्पतालहरुमा बेड पाउन मुस्किल भैसकेको छ। अक्सिजनको हाहाकार भएका  समाचारहरूप्रति यहाँको ध्यान गएकै होला। स्थिति  भयावह बन्दै छ  जसको असर हाम्रो नगरपालिकामा पनि नपर्ला भन्न सकिन्न। भयावह स्वास्थ्य सङ्कटको सामना गर्नु पर्ने अवस्था आउन सक्छ। यसको पूर्व तयारी समयमै गर्न सकिएन भने हाम्रो अमूल्य जीवनमाथि नै  सङ्कट उत्पन्न हुन सक्छ ।नगर प्रमुख ज्यू,  भाइरस सानो जीव हो जुन हाम्रो नाँङ्गो आँखाले देख्न सकिन्न। जुन देख्नका लागि विशेष प्रकारको सूक्ष्म दर्शकयन्त्रको सहारा लिनु पर्दछ। जीवको शरीरमा प्रवेश गरेपछि  आफ्नो सङ्ख्या वृद्धि गर्दै यसले आफ्नो असर देखाउन थाल्छ। यसको असर कसैलाई सामान्य लक्षणको रूपमा देखा पर्दछ भने कसैलाई यसले आक्रान्त पार्न सक्छ/ मृत्यु पनि हुन सक्छ। जुन कुरा कुनै पनि मानिसको प्रतिरक्षा प्रणालीमा प्रभाव पार्न सक्ने/ नसक्ने कुराको आधारमा मानिसलाई यसको असर देखिन सक्छ। हाल देखिएको Covid-19 पनि यसरी नै मानिसलाई असर गर्दै आएको हो  र आज महामारीको रूपमा विश्वसामु  देखिएको छ। कोभिड लागेको बिरामीलाई पछिल्लो समयमा कोभिडका लक्षणसहित Fungal Infection  (ढुसी  सङ्क्रमण) भएको कुरा पनि अध्ययनमा पाइएको छ। शुरुमा मौसमी रुघाखोकी  जस्तो देखिएता पनि यसले बिरामीलाई  झुक्याउन सक्छ। यो महामारीमा हतास नगरीकन तत्काल केही कदम चाल्न सकेमा पनि देशको महामारी नियन्त्रण गर्न सकिने गरि हामीले एउटा नमुना पेस गर्न सक्छौँ। Public Health Microbiology (जन स्वास्थ्य सूक्ष्म जीव विज्ञान)को विद्यार्थीको नाताले मैले यस भानु नगरपालिकामा केही सुझाव खुला पत्रको रुपमा प्रस्तुत गर्दै छु। 

    भानु नगरपालिकामा Covid नियन्त्रणका लागि मेरा सुझावहरु:

    (क) कोभिड-१९  नियन्त्रणको लागि पूर्व तयारी कसरी गर्ने ?

    १. कोभिड संक्रमणको बारेमा जनचेतना जगाउनको लागि प्रत्येक वडाका गाउँ- सहरमा माइकिङ गरौँ, भिडभाड, जमघट , भोजभतेर लगायत सबै क्रियाकलापलाई केही महिना पूर्ण रूपले बन्द गरौँ। 
    २.परिवारबाहेक अन्य व्यक्तिको नजिक जाँदा मास्क अनिवार्य लगाउने र भौतिक दुरी कायम गर्नु पर्ने व्यवस्था  गरौँ। 
    ३. सार्वजनिक स्थलमा पनि  साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरौँ । साथै  पटक पटक साबुनपानीले हात धुनु पर्ने बारेमा सचेत गराऔँ।
    ४. प्रत्येक वडामा  वडा सचिवको मातहतमा  वडामा रहेका  स्वास्थ्य चौकी/ स्वास्थ्य केन्द्रको प्रमुख रहने गरि वडास्तरीय कोभिड नियन्त्रण समिति  ( कमाण्डो समूह) बनाऔँ जसले कोभिड सङ्क्रमित  क्षेत्र पहिचान गरेर समन्वय गर्न सहयोग गरोस। 
    ५.नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख,  पब्लिक हेल्थ माइक्रोबायोलोजिस्ट, चिकित्सक र वडा अध्यक्षसहितको नगरस्तरीय कोभिड नियन्त्रण शक्तिशाली समिति बनाऔँ जसले वडास्तरीय समितिसँग समन्वय गर्न सकोस। 
    ६. विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा गरिने  पठनपाठनलाई  कम्तीमा केही समय  बन्द गरौँ । त्यसको लागि वैकल्पिक माध्यमद्वारा पठनपाठनको व्यवस्था गरौँ। साथै सडक पहुँच भएको विद्यालयका  केही कोठालाई अक्सिजनको व्यवस्था  गरेर कोभिड आइसोलेसन सेन्टर बनाऔँ, जहाँ आपतकालीन अवस्थामा उपचार गर्न सकियोस। 
    ७.नगरपालिकाका प्रत्येक स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी लगायतका  ठाउँमा आवश्यक मेडिकल व्यवस्था गरौँ जसले तत्काल बिरामीलाई  सहानुभूति दिन सहयोग पुग्नेछ।  कोभिडको त्रासमा रहेका बिरामीलाई यसबाट थोरै भएपनि मनोबल बढाउन सकिन्छ।
    ८.नगरपालिकाभित्र यातायात सुविधा भएको अस्पतालमा  कोभिडका गम्भीर बिरामीलाई विशेष उपचारको लागि  भेन्टिलेटरसहित  बेडको  व्यवस्था गरौँ ।
    ९. गाउँघरमा रहेका सामुदायिक  भवनलाई आइसोलेसन सेन्टरको रूपमा  प्रयोगमा ल्याउने तयारी गरौँ साथै उक्त भवनमा माक्स र सेनिटाइजरको व्यवस्था मिलाऔँ।
    १०. त्यसरी बिरामी राखेको ठाउँमा बिरामीकै आफन्तमार्फत सुत्ने र खाने व्यवस्था मिलाउने प्रयत्न गरौँ । वडास्तरीय समितिको समन्वयमा विशेष रेखदेख गर्ने व्यवस्था गरौँ। 
    ११. गाउँ गाउँमा PCR Test गरौँ, त्यसले पनि सम्भावित महामारीको आँकलन गर्न सकिन्छ। PCR Positive देखिएका बिरामी/ परिवारलाई अावश्यक व्यवस्था  मिलाउन सहयोग गरेर कम्तीमा  १४ दिन निगरानी गरौँ।
    १२. कोभिडको शङ्का लागेमा,  उपचार  तथा सहयोगका लागि उप-स्वास्थ्य चौकी/स्वास्थ्य चौकी/ कोभिड अस्पतालको हटलाइन सम्पर्क नं. सबैलाई सार्वजनिक गरौँ जसले गर्दा  होम आइसोलेसनमा रहेका  बिरामीले आवश्यक परापर्श   सहज तरिकाले पाउन सकुन। 
    १३. कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गरौँ । सबैको पायक पर्ने स्थानमा खोप कार्यक्रम सञ्चालन गरौँ। अशक्त तथा जेष्ठ नागरिकका  लागि विशेष व्यवस्था गर्दै सबै उमेर समुहका नगरबासिलाई खोप प्रदान गर्ने व्यवस्था गरौँ ।

    (ख) कोभिड  सङ्क्रमण फैलिएमा  के गर्ने ?
    १.  कोभिडको सङ्क्रमण पुष्टि PCR Test बाट गर्न सकिन्छ । यदि PCR Test गर्न नपाएको अवस्थामा  त्यहाँ  रहेको बिरामीको लक्षण र उसले आवतजावत गरेको स्थान तथा बिरामीद्वारा  भेटिएका व्यक्तिहरुको रेकर्डबाट अनुमान गर्न सकिन्छ।
    २. हालसम्म कोभिडका भ्याक्सिनहरु आए पनि सबैलाई भ्याक्सिन पर्याप्त नभएकोले बिरामीको  अवस्था हेर्दै उपचार गर्नुपर्छ। 
    ३. गाउँ घरमै उचित खानपिन, झोलिलो तथा प्रोटिनयुक्त पेय पदार्थ सेवन गराएर होम आइसोलेसनमै उपचार गर्ने, होम आइसोलेसनको लागि घरमै छुट्टै कोठा/ धन्सारलाई प्रयोग गर्ने,
    ४. कोरोना सङ्क्रमित भएर  तत्काल अस्पताल पुर्याउन सकिएन भने विद्यालयमा तयार गरिएको आइसोलेसनमा राखेर  उपचार गर्ने, त्यस्ता आईसोलेसनमा स्वाथ्य चौकी/ उप-स्वास्थ्य चौकीबाट उपचार गर्न टोली खटाउने ( स्वास्थ्य चौकीमा भिडभाड  हुने भएकोले विद्यालयलाई प्रयोग गर्न सुझाइएको),
    ५. भेन्टिलेटरको आवश्यक परेका बिरामीलाई नगरपालिकामा तयार पारिएको अस्पतालमा उपचार गर्ने, उपचारमा सहजताको लागि नि:शुल्क  एम्बुलेन्सको  व्यवस्था गर्ने,
    ६. कोभिड सङ्क्रमित भेटिएको गाउँलाई सिल गर्ने, करिब १४ दिन बन्द गराउँदा त्यहाँबाट सङ्क्रमण अन्यत्र फैलने सम्भावना कम रहन्छ।
    ७. आइसोलेसन सेन्टरहरूमा बिरामीलाई मनोपरामर्शको व्यवस्था गर्ने, व्यायाम सिकाउने साथै  रोगसँग लड्ने  हौसला बढाउनका लागि प्रेरित गर्ने,
    ८. कोभिड एक व्यक्तिलाई लागेर कुनै लक्षण बिना अर्को व्यक्तिमा सर्न सक्ने तथा सरिसकेपछि  दोश्रो सङ्क्रमित  व्यक्ति बिरामी पर्न सक्ने भएकोले सङ्क्रमित  क्षेत्र  पहिचान गर्नु जरुरी हुन्छ। त्यसको लागि PCR परीक्षण बढाउन उत्तम हुनेछ।
    ९. एक घर एक PCR परीक्षणको व्यवस्था  गरौँ । जसले गर्दा गाउँ/ सहरमा महामारीको  अवस्था कस्तो छ भनी  पत्ता लगाउन सकिन्छ।
    १०. कोभिड व्यवस्थापनमा खटिने सम्पूर्ण कर्मचारीलाई  विशेष प्रोत्साहन भत्ताको व्यवस्था  गरौँ।  यसरी प्रस्तुत सुझावहरू पालन गरेर भानु नगरवासीलाई  कोभिड लगायत कुनै पनि महामारीबाट बचाउन सकिन्छ । त्यसको लागि सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गरेमा सफल हुन सकिन्छ। यसको व्यवस्थापनको लागि श्री नगर प्रमुख ज्यूबाट विशेष पहल गर्नुहुनेछ र मेरा सुझावहरूले  यहाँलाई यस महामारी नियन्त्रण गर्न सहयोगी भूमिका खेल्नेछ भन्ने अपेक्षा गर्दछु।
    “न आत्तिउँ कोभिडको सङ्कट हटेर होइन डटेर सामना गरौँ ,कम्तीमा  भानु नगरपालिकालाई कोरोनामुक्त नगरपालिका बनाउन हामी सबैले आआफ्नो क्षेत्रबाट सक्दो  सहयोग गरौँ ।”


    Public Health Microbiology, M.Sc.भानु-१२, बयापानी, तनहुँ