दुलेगौडा : शुक्लागण्डकी नगरपालिकाको कोभिड राहात कोषमा रु चार लाख सहयोग आएको छ । हेफर ईन्टरनेशनल नेपाल, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र दिदीवहिनी महिला सहकारी थप्रेकको त्रिपक्षीय साझेदारी मार्फत उक्त रकम प्राप्त भएको हो ।
बुधबार हेफरका कार्यक्रम अधिकृत सन्त भट्टराई, नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेम पौडेल, सहकारीकी अध्यक्ष नेत्रीकुमारी वंशी र व्यवस्थापक ममिता गुरुङले शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाईलीलाई रु चार लाखको चेक हस्तान्तरण गर्नुभयो ।
हेफरका कार्यक्रम अधिकृत भट्टराईले कोभिड नियन्त्रणको महाअभियानमा ईट्टा थप्ने काम गरेको बताउनुभयो । उहाँले कोभिड संक्रमितको उपचार र स्वास्थ्य सामग्री खरिदका लागि राहत कोषलाई रकम उपलब्ध गराएको जानकारी दिनुभयो ।
उपप्रमुख रसाईलीले हेफरको सहयोगलाई सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गत वर्षदेखि अहिलेसम्म नगरपालिकालाई कोभिड राहात कोषमा झन्डै एक करोड सहयोग आएको उल्लेख गर्नुभयो । ‘कोभिड नियन्त्रणमा सबैको सहयोगले सहज भएको छ’, उहाँले भन्नुभयो ।
हेफरले कार्य क्षेत्र रहेको तनहुँका स्थानीयलाई कोभिड नियन्त्रणमा सघाईरहेको छ । यसअगाडी जिल्लाको भिमाद र व्यास नगरपालिकाको कोभिड कोषमा ४/४ लाख जम्मा गरेको थियो । जिल्लाकै घिरिङ नगरपालिकालाई ५ लाख दिने जनाईएको छ । यस्तै लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकालाई पनि ४/४ लाख र मस्र्याङदी गाउँपालिकालाई रु दुई लाख दिनेछ । हेफरकै समन्वयमा तनहुँको देवघाट गाउँपालिकाको कोभिड कोषमा पनि रु १५ लाख जम्मा भएको छ ।