देवघाट : देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु ४८ करोड ६९ लाख ७८ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु १९ करोड सात लाख, सङ्घीय समपुरक अनुदान रु एक करोड ९८ लाख, प्रशासनिक खर्च विभिन्न कार्यक्रम र अनिवार्य दायित्वका कार्यक्रमसमेत गरी कूल रु ११ करोड ७९ लाख ८५ हजार अनुमान गरिएको उपाध्यक्ष विमला थापाले बताउनुभयो ।
पुँजीगततर्फ सशर्त अनुदान रु ८८ लाख, विषेश अनुदान रु दुुई करोड ४९ लाख, गाउँपालिकाको भवन निर्माण, सडक लगायतका योजनामा रु १२ करोड ४७ लाख ९३ हजार विनियोजन गरिएको छ ।
गाउँपालिकाले आर्थिक क्षेत्रतर्फ कृषि, पशु, स्वास्थ्य, उद्योग, पर्यटन, सहकारी पूूर्वाधारमा रु सात करोड ९४ लाख, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईका लागि रु २१ करोड २१ लाख ५० हजार विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधारका लागि रु १४ करोड ४५ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि रु एक करोड ९ लाख ५० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ रु दुुई करोड १९ लाख ७८ हजार र कोभिड–१९ व्यवस्थापन कोष, कोभिड भैपरी र पुुँजीगत भैपरीतर्फ रु एक करोड ८० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकामा विकट क्षेत्र धेरै भएकाले विकासका योजनामा गाउँपालिकाले छुट्याएको बजेट अपुुग हुने हुँदा आवश्यक थप बजेटको लागि केन्द्र र प्रदेश सरकारसँग माग गर्ने गाउँपालिकाका अध्यक्ष दुुर्गबहादुर थापाले बताउनुभयो ।