पोखरा : जनता समाजवादीका सांसद हरिशरण आचार्य ४ असारमा मुख्यमन्त्री पोखरेलसँग गरेको लिखित सहमतिबाट पछि हट्नुभएको छ ।
सो दिन मुख्यमन्त्री पोखरेलले जसपालाई अर्थसहित २ मन्त्रालय दिने, दलीय मान्यता पाउन कायम १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था हटाउने र सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउने सहमति गर्नुभएको थियो । तर कांग्रेसले लगातार अनैतिकता प्रस्तुत गरेर सहमतिबाट भाग्न खोजेपछि आचार्यले अर्थ पाउनुपर्ने अडान छाड्नुभएको छ।
गठबन्धनमा डेडलक बन्न नचाहेको र कांग्रेसले अनावश्यक किचलो बढाएपछि आफूले अडान त्यागेको आचार्य बताउनुहुन्छ । ‘किचलो कांग्रेसले नै ल्यायो, उसैले बढायो पनि । हामी किन गठबन्धनको गाँठो बन्ने बनेर भनेर अडान छाड्यौं, कांग्रेसलाई नैतिकता देखाउने मौका छ,’ आचार्यले भन्नुभयो ।
जसपाका आचार्य अडान छाडेर मन्त्रिपरिषद विस्तारमा सकारात्मक बनेकै बेला अर्की सांसद धनमाया लामा पोखरेलले भने यसमा आपत्ति जनाउनुभएको छ । उहॉले माओवादीले आफ्नो बारेमा केन्द्रका नेता गुहारेर निषेधको राजनीति गर्न खोजेको भन्दै शुक्रबार सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नुभयो।
‘२ मन्त्रालय जसपालाई दिने त सहमति पहिलेकै हो, माओवादीले त जसपालाई २ मन्त्रालय दिनुहुन्न भनेर केन्द्रका नेतामार्फत मुख्यमन्त्रीसँग कुरा राखेछ,’ लामाले भन्नुभयो । यसबारे केही दिनमै आफूले सार्वजनिक रुपमै प्रस्ट पार्ने हुने धारणा सार्वजनिक गर्ने उहॉ बताउनुहुन्छ
तर लामाको दाबी झुटो भएको र माओवादीले त्यसो गर्नुपर्ने कारण नरहेको माओवादीका सांसद रामजीप्रसाद बरालको जिकिर छ । माओवादीले अरु नेताको अस्तित्व स्वीकार्ने र कसैको खुट्टा तान्न नलागेको बरालले बताउनुभयो ।
सरकारका प्रवक्ता कुमार खड्काले माओवादीका शीर्ष नेताबाट जसपालाई २ मन्त्रालय नदिन दबाब आएको भन्ने कुरा गलत रहेको दाबी गर्नुभयो । (समाधान दैनिकबाट)