विद्यावारिधी गर्न चाहनेलाई आँबुखैरेनीले प्राेत्साहन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    विद्यावारिधी गर्न चाहनेलाई आँबुखैरेनीले प्राेत्साहन गर्ने

    खबरपुञ्ज संवाददाता

    १३ असार २०७८, आईतवार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले विद्यावारिधी गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्राेत्साहन गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यावारिधी गर्न चाहनेलाई प्राेत्साहन स्वरुप आर्थिक सहयाेग गर्ने व्यवस्था मिलाएको हो ।

    गाउँपालिकाभित्रका कुनै पनि विद्यार्थीले विद्यावारिधी गर्न चाहेमा रु ५० हजारसम्म सहयाेग गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

    गाउँपालिकाले एसइइमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने छात्र र छात्रालाई रु २० हजार पुरस्कार दिने व्यवस्था समेत मिलाएको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई रु ५० हजार, द्वितीय स्थान हासिल गर्ने विद्यालयलाई रु ३० हजार र तृतीय स्थान गर्ने विद्यालयलाई रु २० हजार पुरस्कार प्रदान गर्ने नीति लिइएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पदक प्राप्त गर्न सफल खेलाडीलाई पनि कार्यपालिकाको निर्णय बमोजिम नगद पुरस्कार प्रदान गरिने पोख्रेलले बताउनुभयो ।

    गाउँपालिकाले आगामी तीन वर्षभित्र सामुदायिक र संस्थागत विद्यालयबीचको असमानता कम गरी शिक्षा प्रणाली सुधार गर्ने, बालमैत्री कक्षा सञ्चालन, विद्यार्थी सङ्ख्या बढी भएका साथै शिक्षक दरबन्दी कम भएका विद्यालयमा शिक्षक व्यवस्थापन तथा क्षमता विकासमा जोड दिने नीति लिएको छ । प्राविधिक शिक्षालयहरुको विस्तार र हाल सञ्चालनमा रहेका विद्यालयहरुमा सूचना प्रविधिको उपयोग र विकासमा जोड दिइने गाउँपालिकाले जनाएको छ ।