


दमाैली : नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको मिति तोकिएपछि सरगर्मी बढ्न शुरु भएको छ । महाधिवेशनको मिति तोकिएसँगै तनहुँमा पनि चुनावी रन्को शुरु भइसकेको छ ।
निर्वाचन नजिकिदै जाँदा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । सोही बमोजिम नेपाली काङ्ग्रेस व्यास नगर समितिको सभापति पदमा हरिदत्त पौडेलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
सोमबार दमौलीमा सञ्चारकर्मीसँग भेटघाट गर्दै पौडेलले आगामी साउन १६ गते हुने नगर अधिवेशनका क्रममा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । जिल्लाको सामाजिक क्षेत्रमा सक्रिय भई काम गर्ने इच्छा रहेकाले सभापतिमा उम्मेदवारी दिने पौडेलले बताउनुभयो ।
“नेपाली काङ्ग्रेसलाई एक बनाउन मेरो क्षमता र दक्षता प्रयोग गर्ने सोच राखेको छु,” उहाँले भन्नुभयो । नगरका १४ वटै वडाका हरेक बस्ती बस्तीमा पुगेको बताउँदै पौडेलले जिल्लामा कमजोर बनेको पार्टीलाई बलियो बनाउनु एकमात्र लक्ष्य रहेको बताउनुभयो ।
विसं २०३६ सालमा नेपाल विद्यार्थी सङ्घबाट राजनीति शुरु गर्नुभएका पौडेल सरकारी जीवनको शुरुवातसँगै केही समय निस्कृय रहनुभएको थियो । पौडेल नेपाल इन्जिनियर्स एशोसिएसन इन्जिनियरिङ काउन्सलिङ, नेपाल निजामी कर्मचारी युनियन सङ्घ, कर्मचारी मिलन केन्द्र, रोटरी क्लव, लायन्स क्लव, कलेस्ती उपत्यका विकास समाज, नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण विभागमा रहेर काम गरिसक्नुभएको छ ।