एजेन्सी : युरो कप अन्तिम १६ अन्तर्गत सोमबार (आज) फ्रान्स र स्विट्जरल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । खेल रोमानियाको बुकारेस्टमा नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ।
फ्रान्स समूह चरणमा १ जित र २ बराबरीको नतिजासहित ५ अंक जोडेर समूह ‘एफ’ को विजेताका रूपमा नकआउट चरण प्रवेश गरेको हो ।
स्विट्जरल्यान्ड समूह चरणका ३ खेलमा समान १ जित, बराबरी र हारको नतिजासहित ४ अंक जोडेर समूह ‘ए’बाट उत्कृष्ट तेस्रो हुने टोलीका रूपमा अन्तिम-१६ मा प्रवेश गरेको हो ।
हालसम्म फ्रान्स र स्विट्जरल्यान्डले ३८ खेलमा प्रतिस्पर्धा गरेका छन् । फ्रान्स १६ खेलमा र स्विट्जरल्यान्ड १२ खेलमा विजयी हुँदा १० खेल बराबरीमा सकिएको छ । दुबै टिमले पहिलोपटक सन् १९०५ मा एक अर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण खेल फ्रान्सले १-० ले आफ्नो पक्षमा पार्याे ।
युरो कप अन्तर्गत सन् २०१६ मा भएको पछिल्लो भेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
सन १९९२ को मैत्रीपूर्ण खेलमा २-१ ले पराजित भए यता फ्रान्सले स्विट्जरल्यान्ड विरुद्ध कुनै पनि खेल गुमाएको छैन । १९९२ यता भएका ७ भेटमा फ्रान्सले ३ खेल आफ्नो पक्षमा पार्दा ४ खेल बराबरीमा सकिएको छ । फ्रान्स यो खेलमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ ।
स्विट्जरल्यान्ड पनि फ्रान्सविरुद्ध जितको खडेरीलाई तोड्दै अगाडि बढ्ने दाउमा हुनेछ तर जित निकाल्न भने त्यति सहज हुने छैन ।