भिमाद : लगातारको वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको भिमाद–८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमाद–सिम्ले–भागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सञ्चालनमा आएको हो ।
गत जेठ ३१ गते र असार १ गते आएको वर्षाका कारण उक्त सडकखण्डको कल्भुडा चिसापानी भन्ने स्थानमा पहिरो गएको थियो । सडक अवरुद्ध भएको स्थानमा स्काभेटर लगाएर पहिरो हटाएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि नै पहिरो हटाएर सडक सञ्चालमा ल्याउने प्रयास गरिएपनि निरन्तरको वर्षा तथा सम्भावित जोखिमको कारण एक्साभेटर मालिक तथा चालक त्यहाँ कार्य गर्न तयार नभएका कारण ढिलाई भएको उहाँले बताउनुभयो ।
भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा, नगरपालिकाका सल्लाहकार मनोज खनाल तथा भिमाद नगरपालिका–२ का अध्यक्ष भवानीशङ्कर लम्साल सहित नगरपालिकाको प्राविधिक सम्मिलित टोलीले स्थलगत रुपमा पहिरोको निरीक्षण गरेको थियो ।
अवरुद्ध सडक सञ्चालन नहुँदासम्म सो क्षेत्रमै बसेर कार्य निरीक्षण गर्नुभएका नगरप्रमुख थापाले तत्कालका लागि सडक सुचारु भएतापनि वर्षात्का समय रहेकाले पानी पर्दा पुनः पहिरो गई सडक अवरुद्ध हुने सम्भावना रहेको बताउनुभयो । उहाँले त्यसका लागि दीर्घकालिन योजना बनाउन प्राविधिकहरुलाई निर्देशन दिनुभएको छ ।
सडक अवरुद्ध हुँदा भिमाद नगरपालिका–८ का अतिरिक्त शुक्लागण्डकी नगरपालिकाका सर्वसाधारण मर्कामा परेका थिए ।