तनहुँ : अविरल वर्षासँगै आएको पहिरोले तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा करिब ३०÷३२ वर्षीया सरस्वती थापा र ७२ वर्षीया हरिमाया नेपालीको मृत्यु भएको हो ।
वडासदस्य खड्कबहादुर थापाका अनुसार घर पुरिँदा दुई जनाको मृत्यु भएको हो । सोही घरका एक जना गम्भीर घाइते भएका छन् । त्यसैगरी सोही ठाउँकै अर्को घर भत्किएपनि मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो ।
बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बुधबारमात्रै उक्त ठाउँमा पुगेर जोखिम भएका घरमा नबस्न सर्वसाधारणलाई आग्रह गरिएको बताउनुभयो । “प्रहरीलाई लिएर हिजो त्यस ठाउँमा पुगेर जोखिमयुक्त घरमा नबस्नु है भनेर आएका थियौ,” उहाँले भन्नुभयो, “आज दुःखद घटना भयो ।”