एजेन्सी : अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त भएको छ । लामो समय बार्सिलोनामा बिताएका मेस्सीले पटक–पटक नयाँ सम्झौता गर्दै आएका थिए ।
तर, योपटक भने मेस्सीले नयाँ सम्झौताका लागि कुनै पहल गरेका छैनन् । गए रातिबाट मेस्सीको सम्झौता सकिएको छ । अब मेस्सी कुनै नयाँ क्लबमा जाने वा बार्सिलोनासँगको सम्झौता लम्ब्याउने भन्ने विषयमा छलफल हुन भने बाँकी छ ।
अब मेस्सी फ्रि–एजेन्ट बनेका छन् । अब मेस्सीको अघिल्लो क्लब म्यानचेस्टर सिटी हुने सम्भावना छ । सिटीले लामो प्रयास गर्दा पनि मेस्सीलाई भित्र्याउन सकेको छैन । च्याम्पियन्स लिग जित्न प्रयत्न गरिरहेको सिटी मेस्सीलाई भित्र्याउने योजनामा छ ।
बार्सिलोना छाड्ने पछिल्ला १२ महिनाको कोसिसपछि मेस्सी अनुबन्धबाट बाहिर आएका छन् । मेस्सीले क्लब करियर नै बार्सिलोनामा सकाउने चर्चा थियो । तर, अहिले मेस्सीले नयाँ सम्झौता नगर्दा केही फरक चर्चा भएको छ ।
विभिन्न दाबी र अनुमानलाई गलत साबित गर्दै सम्झौता नवीकरणका लागि मेस्सीले क्लबसँग कुनै प्रयास गरेनन् । अब मेस्सीलाई अनुबन्ध गर्न कुनै पनि क्लबले सक्नेछ । किनभने, मेस्सी गएबापत बार्सिलोनाले कुनै आर्थिक रकम पाउने छैन ।