दमाैली : अविरल वर्षासँगै आएको बाढीले पाइप बगाउँदा तनहुँको बन्दीपुरको नाहालामा खानेपानी अवरुद्ध भएको छ । बाढीले पाइपमा क्षति पुग्दा छाप नाहाला खानेपानी आयोजनाबाट वितरित खानेपानी अवरुद्ध भएको हो ।
बाढीका कारण भुकचुके मुहानका सम्पूर्ण संरचनामा पूर्ण रुपमा क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष परशुराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शिखरडाँडा र भेन्टाबारीमा समेत पहिरोका कारण पाइपलाइनमा क्षति पुगेको छ । “लिफ्टिङ प्रणालीबाट वितरण भएका क्षेत्रहरुका साथै शिखरडाँडा ट्याङ्कीबाट वितरण भएको क्षेत्रहरुमा केही दिन पानी अवरुद्ध भएको छ,” उहाँले भन्नुभयो ।