दमाैली : कारितास नेपाल धोविघाट ललितपुरले दमौली अस्पताललाई रु १९ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि उक्त संस्थाले सिआरएसको आर्थिक सहयोगमा अस्पताललाई रु १९ लाख १५ हजार एक सय २३ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
उक्त सामग्री कारितास नेपालका प्राविधिक संयोजक राजेश सुनुवार र कार्यक्रम संयोजक हरिसिं कुवंरले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई शुक्रबार हस्तान्तरण गर्नुभयो । कोभिड–१९ न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्झौता गरी सामग्री हस्तान्तरण गरिएको कुंवरले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त संस्थाले गण्डकी प्रदेश अन्तर्गतका विभिन्न अस्पताललाई रु एक करोड २० लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गर्नेछ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले स्वास्थ्य सामग्रीले स्वास्थ्यकर्मीलाई प्रेरणा मिल्ने र कोभिड सङ्क्रमितको उपचारमा सहयोग पुग्ने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेलले माग गरेका सामग्री सहयोग प्राप्त हुँदा कोभिड उपचारमा सहज वातावरण सिर्जना भएको बताउनुभयो । विभिन्न सङ्घसंस्थाको सहयोगमा अस्पताललाई सामग्री सहयोग भइरहेको डा. पौडेलले जानकारी दिनुभयो ।
दमौली अस्पताललाई अस्पताललाई शय्या, अक्सिजन कन्सनट्रेटर, अक्सिमिटर, मास्क, स्यानीटाइजर, पिपिई, पञ्जा, स्यानीटाइजर लगायतका सामग्री सहयोग गरिएको छ ।